मध्यपुर थिमिको नगदेशमा जेठ २६ गते वः फेस्टिवल हुने

भक्तपुर, जेठ २२
मध्यपुर थिमिमा दोस्रो पटक वः फेस्टिवल हुने भएको छ । मध्यपुर थिमि नगरपालिकाको सहयोगमा मध्यपुर पर्यटन विकास समितिले यही जेठ २६ गते शनिवार मध्यपुर थिमिको नगदेशमा वः फेस्टिबल आयोजना गर्न लागेको हो ।
मध्यपुर थिमिको नगदेश क्षेत्र हरियो तरकारीको लागि प्रख्यात क्षेत्र हो । यहाँको मौलिक पेशा व्यवसाय तरकारी खेती हो । त्यसैले यसवर्ष वः फेस्टिबलमा हरियो तरकारीको प्रवद्र्धनको लागि ग्रिन एग्रो एक्सपो समेत हुने भएको छ ।
वः नेवार समूदायले माउने प्रमुख चाडपर्व मध्ये एक सिथि नखःमा खाने प्रमुख परिकार हो । नेवारी सँस्कृतिमा वः विभिन्न प्रयोजनका लागि विभिन्न प्रकारका वः तयार गरिन्छ । केही वः परिकार खानाको रुपमा उपयोग गरिन्छ भने केही वःका परिकार मृत्यु संस्कार र पुजामा नभई नहुने हुन्छ ।
वः मास, मुगी तथा अन्य विभिन्न गेडागुडी भिजाइ सफा गरी पिसेर आफूलाइ मनपर्ने अण्डा, माछा, मासु तथा मरमसला मिलाइ टावामा विभिन्न पकाइन्छ । माय् वः, मुँ वः, मुसु वः, भुति वः, तरकारी वः, ला वः÷लापि वः, खें वः, ख्वल्चा वः, भु वः÷तःपा वः, सू वः÷बारा वः वःका परिकार हुन ।
नेवा समुदायको विशिष्टकृत खाना वःको प्रवद्र्धनका साथै मध्यपुर थिमिको मौलिक कलासँस्कृति, सम्पदाहरुको प्रचार प्रसार गरी आन्तरिक र बाह्य पर्यटकको आगमनमा बृद्धि गर्ने उद्देश्यले वः फेस्टिबल आयोजना गर्न लागिएको मध्यपुर पर्यटन विकास समितिका संयोजक रमेश प्रजापतिले बताउनुभयो ।
युनेस्कोमा सुचीकृत रहेको कोरियन अचार किम्ची बनाउने चाइनिज क्याबेज नेपाल भरीकै उत्कृष्ट उत्पादन नगदेशबासीले गर्दै आएको र यसलाई थप प्रवद्र्धन गर्न पनि वः फेस्टिबलमा ग्रिन एग्रो एक्स्पोलाई पनि सँगसँगैं लान खोजिएको प्रजापतिले जानकारी दिनुभयो ।
उहाँले पर्यटनलाई स्थानीय जनताको आयआर्जनमा जोड्ने लक्ष्यका साथ वः फेस्टिभललाई स्थानीयको आयआर्जनसँग जोड्ने प्रयास गरिएको जानकारी दिनुभयो । महोत्सवमा १८ वटा खानाको स्टल र ७ वटा मध्यपुर थिमिका जनताले उत्पादन गरेका विभिन्न ग्रिन भेजिटेबल तथा कोरियन खाना किम्ची लगायत परम्परागत तथा साँस्कृतिक उत्पादन एवम् हस्तकलाका सामान बिक्रि वितरण स्टल रहने छ । यसका साथै वः फेस्टिवलमा स्थानीय कलाकारका साथै निशा देसारलगायतका कलाकारहरुले विभिन्न सांगीतिक प्रस्तुती पस्कने छन ।
फेस्टिवल सम्पन्न गर्न करिव ८ लाख रुपैंया खर्च हुने र त्यसका लागि मध्यपुर थिमि नगरपालिका र स्वतःस्फुर्त रुपमा सहयोग गर्न चाहने व्यापारिक संघसंस्थाको सहयोगमा स्रोत व्यवस्थापन गरिने प्रजापतिले जानकारी दिनुभयो ।
फेस्टिवलमा स्थानीय महिला तथा आमा समूहलगायतका संघसंस्था र नेवारी रेष्टुरेन्टले स्टल राख्ने र व्यवसायीहरुको लगानीको सुनिश्चित गर्न विभिन्न संघसंस्थालाई करिव ४ लाख रुपैंया भन्दा बढीको बिक्रि कुपनको बुकिङ गराउने व्यवस्था गरिएको आयोजक मध्यपुर पर्यटन विकास समितिका उपाध्यक्ष कविदास श्रेष्ठले बताउनुभयो ।