राष्ट्रिय बुद्धिचालमा प्रकाश, राजन र सुश्रुप, महिलामा सिन्दिरा शिर्ष स्थानमा

भक्तपुर, जेठ २२
२४ औं पुरुष राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको चौथो दिन मंगलबार पुरुषतर्फ शीर्ष तीन स्थान झापाका खेलाडी रहन सफल भएका छन । आठौं चरणको खेल सकिँदा प्रकाशचन्द्र नेपाल, राजन सुवेदी र सुश्रुत दाहालले शीर्ष तीन स्थानमा रहेका छन । प्रकाश र राजनले समान ५.५ अंक बटुलेका छन् भने सुश्रुतले ५ अंक जोडेका छन् ।
१९५१ रेटिङका प्रकाशले २०८५ रेटिङका क्षितिज भण्डारीसँग बराबरी गरेपछि आठौं चरणमा अघिल्लो दिनसम्म शीर्षस्थानमा रहेका पुरुषोत्तम सिलवालाई पराजित गरेका थिए । उनले अन्तिम तीन खेलमा फिडे मास्टर (एफएम) रुपेश जैसवाल, राजन र क्यान्डिडेट मास्टर (सीएम) मिलन लामासँग प्रतिस्पर्धा गर्नेछन् ।
१९५९ रेटिङका राजनले २०३८ रेटिङका मिलनलाई पराजित गर्नुअघि पूर्वच्याम्पियन केशव श्रेष्ठसँग बराबरी खेलेका थिए । उनले सुशील चौधरी, प्रकाश र प्रेमकृष्ण महर्जनसँग प्रतिस्पर्धा गर्न बाँकी रहेको छ ।
एफएम क्षितिज भण्डारी र पुरुषोत्ततम ५–५ अंकसहित शीर्ष पाँचमा रहेका छन् । सुरुआती ६ खेलमध्ये ५ खेल जितेपछि पुरुषोत्तमले लय गुमाएका छन् । २११२ रेटिङका उनले सुशील र प्रकाशविरुद्ध हार बेहोरेका हुन् । उनले प्रेमकृष्ण, सुरोज महर्जन र सुश्रुतको सामना गर्न बाँकी छ ।


सिन्दिरा शीर्षस्थानमा
यसैगरी नवौं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा सिन्दिरा जोशी पूजा भण्डारी र पुनम प्रसाइँलाई पराजित गर्दै सर्बाधिक ७ अंकससहित शीर्षस्थान हासिल गरेकी छन् । उनलाई पूजा, शान्ति धिमाल र कृतिसरा अधिकारीले पछ्याइरहेका छन् । यि तीनै खेलाडीको समान ६ अंक रहेको छ ।
लुम्बिनी इभेन्ट्स एन्ड म्यानेजमेन्ट र नेपाल बुद्धिचाल महासंघद्वारा संयुक्त रुपमा आयोजित च्याम्पियनसिपबाट शीर्ष तीन पुरुष र उत्कृष्ट चार महिला खेलाडी हंगेरीमा सेप्टेम्बरमा हुने ४५ औं चेस ओलम्पियाड २०२४ मा छनोट हुनेछन् ।