लोहकिल्थलीको दक्षिणकाली मन्दिरको फल्चा पुनःनिर्माण शुरु

भक्तपुर, चैत्र २५
मध्यपुर थिमि नगरपालिका वडा नं. १ लोहकिल्थलीस्थित दक्षिणकाली मन्दिरको फल्चा (पाटी) पुनःनिर्माण हुने भएको छ । बागमती प्रदेश सरकारको योजना अनुसार स्थानीय उपभोक्ताहरुले सो मन्दिरको फल्चा पुनःनिर्माण हुन लागेको हो ।
फल्चा निर्माणको लागि बागमती प्रदेशको शहरी विकास तथा भवन कार्यालयले २४ लाख ९९ हजार ७२९ रुपैंया सहयोग गर्नेछ भने स्थानीय उपभोक्ताहरुले २ लाख ६७ हजार ६५ रुपैंया व्यहोर्नेछ ।


फल्चा निर्माणको शनिवार शुभारम्भ गर्दै बागमती प्रदेशका कृषि तथा पशुपन्छी मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले परम्परागत कला सँस्कृति नेपालको मौलिक पहिचान भएको बताउनुभयो । उहाँले विकास निर्माणमा स्थानीय उपभोक्ताहरुको सहभागिताले गुणस्तरिय निर्माण हुनुका साथै अपनत्व समेत रहने बताउनुभयो ।
फल्चा निर्माणका लागि स्थानीय उपभोक्ता र भवन कार्यालयबीच गत चैत्र १ गतेदेखी कार्य शुरु गर्ने गरी सम्झौता भएको थियो । फल्चा निर्माण कार्य आगामी २०८१ जेठ २५ गतेभित्र गरिसक्नु पर्ने सम्झौता रहेको छ ।