फोटो पत्रकार श्रेष्ठ थिम्रिङ पत्रकारिता पुरस्कारबाट पुरस्कृत

भक्तपुर, चैत्र २५
राष्ट्रिय समाचार समिति (रासस)का फाटो पत्रकार रत्नकृष्ण श्रेष्ठ थिम्रिङ पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । मध्यपुर सञ्चार समाजको पाँचौँ अधिवेशन एवं १२औँ साधारणसभाको अवसरमा शनिवार फाटो पत्रकार श्रेष्ठ पुरस्कृत हुनुभएको हो ।
समाजले फोटो पत्रकारितामार्फत मध्यपुर थिमि र यहाँको कला सँस्कृतिलाई विश्वमा चिनाउन महत्वपूर्ण योगदान गरेको भन्दै श्रेष्ठलाई नगद ५ हजारसहित थिम्रिङ पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो ।
सो अवसरमा समाजले मध्यपुर थिमि नगरपालिकाका पुर्व नगरप्रमुख मदनसुन्दरु श्रेष्ठलाई सम्मान गरेको छ । श्रेष्ठले नगरप्रमुख हुँदा मध्यपुर थिमिको मूर्त अमूर्त कला सँस्कृति र सम्पदाहरुको संरक्षणमा उल्लेख्य योगदान गरेको भन्दै सम्मान गरेको हो ।


पुरस्कृत फोटो पत्रकार श्रेष्ठ र सम्मानीत पूर्व नगरप्रमुख श्रेष्ठलाई मध्यपुर थिमिका जिवित साँस्कृतिक धरोहर एवम् परम्परागत नाच तथा वाद्यवादन गुरु श्रीगोपाल प्रजापति, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति र समाजका अध्यक्ष बाबुकाजी साँछें श्रेष्ठले दोसल्ला ओढाई, भादगाउँले टोपी र सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा पूर्व नगरप्रमुख श्रेष्ठले पद छोडेको दुई वर्ष पछि पनि सम्मानीत हुन पाउँदा आफुले मध्यपुर थिमिको नगरप्रमुख हुँदा यहाँको कला सँस्कृतिको क्षेत्रमा केही काम गरेको रहेछु भन्ने अनुभुती र गर्व लागेको बताउनुभयो ।


उहाँले यहाँको कला, संस्कृति र सम्पदालाई पर्यटनसँग जोडेर लैजाने लक्ष्य रहेको उल्लेख गर्दै थिमिको विकास, सम्पदाको संरक्षण र पर्यटनको विकास गरी रोजगारी एवं आर्थिक समृद्धिको क्षेत्रमा अहिले पनि निरन्तर लागिरहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले भक्तपुरमा अहिलेको परिस्थितीमा तत्काल महासंघको अधिवेशन गर्न नसकिने अवस्था रहेको बताउनुभयो । उहाँले भक्तपुरले साधारणसभा गर्न खोज्दा महासंघको केन्द्रले सदस्यता शुद्धिकरण अभियान अन्तिममा पुगेको भन्दै रोक्न निर्देशन दिएको र अहिले पनि शुद्धिकरण अभियान नटुंगिएकोले अधिवेशन गर्न सकिने अवस्था नरहेको बताउनुभएको हो ।


पुरस्कृत पत्रकार श्रेष्ठले पत्रकारितामा फोटो पत्रकारिता अझ कठिन र चुनौतीपूर्ण विधा भएको बताउनुभयो । उहाँले जुनसुकै विपद्, भिडभाड्, विरोध प्रदर्शनलगायतका घटनामा समेत आफुलाई सुरक्षित गर्दै स्थलगतरुपमा फोटो खिचेर रिपोर्टिङ गर्नु जोखिम सँगै चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले त्यस्तो परिस्थितीमा पनि काम गरेर जनतालाई सूचना दिन पाउँदा आफुलाई आनन्दित गर्ने गरेको बताउनुभयो ।
समाजका अध्यक्ष बाकुकाजी श्रेष्ठले मध्यपुर थिमिका सञ्चारकर्मीहरुलाई एकत्रित गरी उनीहरुको वृत्ति विकास र यस क्षेत्रमा पत्रकारिताको विकास गर्ने उद्देश्यले स्थापित समाजले विविध कार्यक्रम मार्फत पत्रकारिता क्षेत्रको विकासका लागि योगदान गर्दै आइरहेको बताउनुभयो ।
सभाले कोषाध्यक्ष चन्द्रकृष्ण श्रेष्ठ, सचिव सुमन श्रेष्ठले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित गर्नुका साथै नयाँ नेतृत्व चयन गरेको छ ।


अधिवेशनले चन्द्रकृष्ण श्रेष्ठलाई समाजको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । यस्तै उपाध्यक्षमा सागर गुरागाईं, सचिवमा सुमन श्रेष्ठ, सहसचिवमा पृथ्वीराम श्रेष्ठ, कोषाध्यक्षमा सरिना श्रेष्ठ, सदस्यहरुमा विश्वेश्वर श्रेष्ठ, रेणु श्रेष्ठ, सुरेश ख्वाक श्रेष्ठ, विज्ञान भक्त श्रेष्ठ र रत्नकाजी प्रजापति निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता तुइलाल श्रेष्ठले जानकारी दिनुभयो ।