उपत्यका व्यापी धिमे बाजा प्रतियोगितामा सिरुटारको लुँनिभा धिमे खलः प्रथम (फोटो फिचरसहित)

भक्तपुर, चैत्र २६
मध्यपुर थिमि नगरपालिकाको आयोजनामा सोमवार बोडेमा सम्पन्न उपत्यका व्यापी धिमे बाजा प्रतियोगितामा सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटारको लुँनिभा धिमे खलः प्रथम भएको छ ।
लाकुछें धिमे गुठी र खपला धिमे गुठीको सहकार्यमा आयोजित प्रतियोगितामा लुँनिभाले प्रथम हुँदैं आकर्षण शिल्ड, प्रमाणपत्र र नगद २५ हजार पुरस्कार जित्न सफल भएको छ । लुँनिभा गत शनिवार भक्तपुरमा सम्पन्न प्रथम बागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगितामा पनि प्रथम भएको थियो ।


प्रतियोगितामा चाँगुनारायण नगरपालिका वडा नं. ९, ताथलीको ताथली धिमे खलः दोस्रो हुन सफल भएको छ । ताथलीले शिल्ड, प्रमाणपत्र र नगद २० हजार पुरस्कार प्राप्त गरे । ताथली पनि गत शनिवार भक्तपुरमा सम्पन्न प्रथम बागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगितामा पनि द्धितिय भएको थियो ।


त्यसैगरी सूर्यविनायक नगरपालिका १, सिरुटारको श्री नासः धिमे खलः तेस्रो र मध्यपुर थिमिको श्री ईन्द्रायणी धिमे खलः चौंथो हुन सफल भएको छ । नासः धिमे खलःले नगद १५ हजार र ईन्द्रायणीले नगद १० हजार पुरस्कार प्राप्त गरे ।प्रतियोगितामा निर्णायक मण्डलले श्री नास भैल धिमे खलः थानकोट काठमाण्डौंलाई जर्ज च्वाइस अवार्ड प्रदान गर्दै प्रोत्साहित गरेको थियो ।
प्रतियोगितामा काठमाण्डौं उपत्यकाका विभिन्न नगरपालिकाका ५० वटा धिमे खलः, समूह, पुचः, गुठीहरुको सहभागिता रहेको प्रतियोगिता संयोजक दिलकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।


प्रतियोगितामा विजयी धिमे खलःलाई पुरस्कृत गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बोडे आफैंमा पनि साँस्कृतिक शहर भएको बताउनुभयो । उहाँले बोडेको जिब्रो छेड्ने जात्राको प्रचारका लागि पनि यस वर्ष प्रतियोगिता बोडेमा आयोजना गरिएको जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागी मध्ये युवा वर्गको बाहुल्यताले धिमे बाजालाई पुस्तान्तरण गर्न धिमे बाजा प्रतियोगिताले थप योगदान दिएको अनुभुती भएको उहाँले बताउनुभयो ।


उहाँले सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि नगरपालिकाले दिवा खाजा, शिशु स्याहार केन्द्र, विद्यालयका अतिरिक्त क्रियाकलापको लागि खेल शिक्षकको व्यवस्था, सामूदायिक विद्यालयको शौचालयको सरसफाईलगायतमा नगरपालिकाले लगानी गरिरहेको जानकारी दिनुभयो ।
मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले पर्यटनबाट मात्र मध्यपुरलाई समृद्ध नगर बनाउन सकिने बताउनुभयो । उहाँले बोडेको जिब्रो छेड्ने जात्रा विश्व प्रसिद्ध रहेको चर्चा गर्दै बोडेको ऐतिहासिक सम्पदा, पार्क र पोखरीलाई पयर्टन र आय आर्जनसँग जोड्दै लैजाने लक्ष्य रहेको बताउनुभयो ।


उहाँले स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्दै लैजानु पर्नेमा जोड दिँदैं यहाँको मौलिक नामहरुको संरक्षण गरी मौलिक पहिचानसमेत संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतियोगिताका संयोजक दिलकृष्ण प्रजापतिले प्रतियोगिताले बोडेको सम्पदा, कला सँस्कृतिको प्रचार प्रसारमा उल्लेख्य योगदान गरेको विश्वास व्यक्त गर्नुभयो ।


प्रतियोगितासँगै यसवर्ष मध्यपुर थिमिको स्थानीय मौलिक उत्पादन र मौलिक खानाको परिकारको प्रर्वद्धनका लागि सँस्कृति मेला २०८० र फोटो प्रदर्शनी पनि आयोजना गरिएको थियो ।
स्थानीय उत्पादन र परिकार प्रदर्शनीको संयोजन भक्तपुर घरेलु तथा साना उद्योग संघ, भक्तपुर चेम्बर अफ कमर्श र मध्यपुर पर्यटन विकास समितिले गरेको थियो । प्रदर्शनीमा खाद्यान्न तथा मसला उद्योग, पस्मिना, खाने तेल, जुजु धौ, सेरामिक्स, नेपाली भेषभूषा तथा पुतली, हस्तकला, मुकुण्डो (मास्क मेकिङ), उडक्राफ्टलगायतका २५ वटा स्टल रहेका थिए । प्रदर्शनीमा टिकनीको चिउरा, माटोको भाँडा बनाउने विधि, नेपाली घरबुना तान र मुकुण्डो निर्माणको प्रत्यक्ष अवलोकन गर्ने व्यवस्था गरिएको थियो ।
प्रतियोगितासँगै आयोजित फाटो प्रदर्शनीमा मध्यपुर थिमिको कला सँस्कृति, रहनसहन र ऐतिहासिक घटनाक्रम झल्कने फोटो प्रदर्शनी गरिएको थियो । कुमारी पार्कमा आयोजित फोटो प्रदर्शनीको संयोजन फोटोग्राफर चन्द्र चक्रधरले गर्नुभएको थियो ।


यसैगरी बोडेका धिमे गुरु, साँस्कृतिक गुरु, जिब्रो छेडाएर जात्रालाई जिवन्तता प्रदान गर्दै आएका व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो ।
प्रतियोगिताको भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापा, बागमती प्रदेशका सांसद सुरेश श्रेष्ठसमेत अवलोकन गर्नुभएको थियो ।