बिस्का जात्राको रौनकमा झुम्दै भक्तपुर

फाइल फोटो

लक्ष्मी गारु, भक्तपुर, चैत्र २७
भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (मंगलवार)बाट शुरु हुँदैछ । यस सँगै ९ दिन भक्तपुर बिस्का जात्राको रौनकमा झुम्ने छ ।
नव वर्षको आगमनसँगै आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्राको मुख्य आकर्षण भैरवनाथ र भद्रकालीको रथ तान्ने र भेलुखेलस्थित यसीँख्यमा ५५ हात लामो यसीँ (लिंगो) उठाउनु हो । भैरवनाथको रथ तान्ने प्रचलन शुरु हुनुभन्दा अघि भद्रकालीको मात्र रथ तान्ने परम्परा रहेको संस्कृतीविदहरु बताउँछन ।
कुनै समय बिस्का जात्रामा भद्रकालीको मात्र रथ तान्ने परम्परा भएको प्रा. डा. पुरुषोत्तम लोचन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार एक समय यहाँ ठूलो अनिकाल परेको थियो । त्यसबेलाको भद्रकालीको जात्रामा सहभागी सबैभन्दा अग्लो एक व्यक्ति भद्रकालीको रथको अघिपछि हिँड्दै गरेको देखेर एक जना सिद्ध आचाजुले ध्यानदृष्टिले हेर्दा उनी काशी विश्वनाथ भएको थाहा पाए ।


विश्वनाथले जात्रा हेर्न आएको चाल पाएपछि ती सिद्ध प्राप्त आचाजुले विश्वनाथलाई रोक्ने प्रयास गरे । त्यो थाहा पाएपछि विश्वनाथ काशी भाग्ने प्रयास गरे । भाग्नेक्रममा विश्वनाथ जमिनमुनी अलप हुने प्रयास गरे । त्यहीबेला आचाजुले हसियाँले टाउको छिनाई दियो । सोही टाउकोलाई यहाँ स्थापित गरे । विश्वनाथको टाउकोलाई यता स्थापित गरेपछि देशमा सहकाल आयो ।
त्यसबेलादेखी भद्रकालीको रथसँगै भैरवनाथको पनि रथ जात्रा शुरु भएको प्रा. डा. श्रेष्ठ बताउँछन । आचाजुले तान्त्रिक बलले हँसियाले विश्वनाथको टाउको काटेकोले नेवार समुदायमा अहिले पनि हँसियाले मासु काट्न हुँदैन भन्ने मान्यता रहेको छ ।
वास्तवमा बिस्का जात्राको मुख्य आकर्षण नै भैरवनाथको रथ तानातान गर्ने र यसीँ ठड्याउने नै हो । तर बिस्का जात्राको ९ दिन आठ रातमा भक्तपुरमा विभिन्न देवी देवताहरुका खट जात्रा पनि हुन्छ । जसको छुट्टै र विशेषखालको महत्व रहेको संस्कृतिविद्हरु बताउँछन ।
भक्तपुरको विभिन्न टोलटोलमा मनाउने विभिन्न देवी देवताहरुको जात्रालाई भैरव र भद्रकालीको सम्मानमा मनाउने गरिएको जात्राको रुपमा लिनुपर्ने प्रा. डा. श्रेष्ठ बताउँछन । उहाँले बिस्का जात्राको संस्कृतिलाई उचाईमा पु¥याउन र मानिसले मात्र नभई देवी देवताहरुले समेत भैरव र भद्रकालीले सम्मान व्यक्त गरेको अर्थमा भक्तपुरका टोल टोलमा रहेका देवी देवताहरुको जात्रा गर्ने प्रचलन शुरु भएको बताउनुभयो ।


‘स्याःक्वःत्याःक्वः’ र बाराही क्वाँविज्यायु
जात्राको तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलिपुजाको मासु प्रसादका रुपमा लाकुलाछेबासीलाई बाँडिन्छ, जसलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ ।
जात्राको तेस्रो दिन नै तेखाचोस्थित बाराहीको द्य छें (देवघर)बाट बाराही पिठ स्थित बाराही मन्दिर लैजाने परम्परा रहेको छ । स्थानीय बाजागाजासहित बाराहीलाई पिठमा लैजाने परम्परालाई स्थानीय भाषामा बाराही क्वाँविज्यायु भनिन्छ ।
बाराही तिप्वा जात्रा
बिस्का जात्राको चौथो दिन अर्थात चैत्र महिनाको मसान्तको दिन अष्टमात्रिकाका शक्तिशाली देवी मध्ये एक शक्तिशाली देवी बाराहीको बाराही तिप्वा जात्रा हुन्छ । यसीँख्यमा यसीँ (लिंगो) उभ्याउने जात्रा पछि भक्तपुर नगरपालिका–३, तेखाचो टोलमा रहेको बाराहीको मुर्तिलाई खटमा राखी उक्त तिप्वा जात्रा हुने गर्दछ । प्यागोडा शैलीमा निर्मित बाराहीको खटलाई सिंगार पटार गरी तयार गरि बाराहीलाई विराजमान गराइन्छ ।
जात्रामा स–साना बालबालिकादेखि बृद्धबृद्धा समेत चिलाख बालेरजात्रामा सहभागी हुने गर्दछ । जात्रामा हजारौं भक्तालुहरु धुप, बत्ती, सुकुन्दा बाली सहभागी हुने गर्दछन् । शक्तिकी देवी बाराहीलाई एक रात पिठमा नै राखी भोली पल्ट लिङगो ढालीसके पछि बाराहीको खटलाई पुज्न टोल टोलमा लगी पुजा आरधना गरी चतामरी लगायत विभिन्न प्रसादहरु चढाउने गरिन्छ ।
इन्द्रायणी देवीको त्वारिवा जात्रा
बिस्का जात्राका क्रममा मनाइने अष्टमात्रिका शक्तिशाली देवीको जात्रामध्ये इन्द्रायणी देवीको त्वारिवा जात्रा पनि महत्वपुर्ण छ । यसवेला इन्द्रायणीको खटलाई विभिन्न प्रकारले शृङगार गरेर रथजात्रा मनाउने चलन रहेको छ ।
सो रथमा इन्द्रायणी देवीको द्यो छेमा रहेको मुर्तिलाई खटमा विराजमान गराई आफ्नो इलाकामा जात्रा मनाउने गरिन्छ । यतिवेला सो इलाकाभित्रका बासिन्दाहरुले आ–आफ्नो घरबाट त्वारिवा ल्याई देव बत्ति बालेर इन्दायणी त्वारिवा जात्रामा सहभागी हुने गर्दछ । स्थानिय दाफा, भजनखलको भजन र बाजाहरुको गुन्जायमान जात्रालाई थप रौनक बनाउँदछ ।
भैरव र भद्रकाली रथ जुधाउने जात्रा
बिस्का जात्राको अर्काे आकर्षण भैरव र भद्रकालीको रथ जुधाउने जात्रा पनि हो । परापुर्वकालदेखि नै संचालित लिङगो जात्राको समापन लगतै बैशाख १ गते स्थानिय गाःहिटी टोलमा भैरव र भद्रकालीको रथ संगम जात्रा हुने गर्दछ । यसलाई भैरव र भद्रकालीको विवाहको रुपमा पनि लिने गरिन्छ ।


महाकाली र महालक्ष्मीको जात्रा
बिस्का जात्राको अवसरमा टोलटोलमा हुने जात्राहरु मध्ये महत्वपुर्ण जात्राको रुपमा लिइने अर्को जात्रा हो महाकाली र महालक्ष्मीको संङगम जात्रा । यो जात्रा बैशाख २ गते भक्तपुरमा बडो धुमधामका साथ मनाइन्छ ।
यो जात्राका क्रममा महाकाली द्यो छे बाट मुर्तिलाई विमान आकारको खटमा राखी भोलाछेंबाट जात्रा सुरु गरिन्छ । अर्कोतर्फ महालक्ष्मीको मुर्तिलाई पनि विमान आकारकै खटमा विराजमान गराई जात्रा सुरु गरिन्छ ।
यस जात्राको अवसरमा जात्रालुहरुले एकातर्फ पहेँलो टोपी र अर्कोतर्फ रातो टोपी लगाउने परम्परा छ । जात्राका क्रममा मध्यभागमा महाकाली र महालक्ष्मी भेट भएपछि दुवै खटलाई जुधाइ संङगम गराउने प्रचलन छ ।
ब्रम्हायणी र महेश्वरीको जात्रा
अष्टमातृका मध्ये प्रमुख शक्तिशाली देवीका रुपमा पुजिने देवीका रुपमा लिइने ब्रम्हायणी र महेश्वरीको जात्रा वैशाख ३ गते मनाइन्छ । सुर्यमढीस्थित द्यो छेमा रहेको ब्रम्हायणीको मुर्तिलाई खटमा राखी जात्राको प्रारम्भ गरिन्छ । स्थानिय टोलका बालबच्चा देखि लिएर बृद्धाहरुले समेत चिलाख र मुस्याख्व बत्ती बाली खटको अगाडि लाग्छन् ।
स्थानिय इनाचो टोलमा रहेका महेश्वरी द्यो छें को मुर्तिलाई खटमा राखी शृङगारपटारका साथ जात्रा शुरु गरिन्छ । यी दुवै देवीहरुको आ–आफ्नो इलाकामा जात्रा शुरु गरेपछि स्थानिय दत्तात्रय चोकको बिच भागमा आइपुग्दा भेट गराएर दुवैको रथ जुधाइन्छ । यसबेला दुवै खटको प्रसाद साटासाट गरिन्छ भने दुवैले आ–आफ्नो चिलाखबत्ती समेत साटासाट गर्ने प्रचलन छ ।
बटुकभैरव र ज्याठा गणेशजात्रा
बिस्का जात्राको अवसरमा अष्टमातृका देवदेवीहरुको मात्र जात्रा नभई भैरव र गणेशको पनि जात्रा हुने गर्दछ । स्थानिय बुलुचा टोलको बटुक भैरव र कुम्हाले टोलको ज्याठा गणेशको जात्रा पनि गरिन्छ । जात्राका क्रममा खटलाई शृङगारेर देवताका मुर्तिहरु स्थापित गरी खटलाई आ–आफ्नो टोलमा घुमाउने गरिन्छ । सो अवसरमा बटुक भैरव र ज्याठा गणेशको रथ जहाँ भेट्छ त्यहाँ रथ जुधाउने गरिन्छ ।
छुमा गणेश जात्रा
बिस्का जात्राको आठौं दिन अर्थात वैशाख ४ गतेका दिन छुमा गणेशको जात्रा गरिन्छ । यसबेला शक्तिका देवता छुमा गणेशको मुर्तिलाई खटमा राखी स्थानिय चोछें टोलमा घुमाइ जात्रा मनाइन्छ । स्थानिय टोलबासीले जात्राका क्रममा घरघरबाट चटामरी प्रसादहरु चढाउने गरिन्छ ।
द्यो स्वगं पुजा (सगुन जात्रा)
बैशाख ४ गते मनाईने द्यो स्वगं पुजा पनि बिस्का जात्राको एक महत्वपुर्ण पुजाको रुपमा रहेको छ । यसलाई स्वगं पुजाको नाममा चिनिन्छ । यो पुजा प्राचिन कालदेखि नै संचलन हुँदै आएको इतिहासमा उल्लेख रहेको पाईन्छ । बिस्का जात्रालाई विस्तृत पारी शक्तिशाली देवदेवीहरुका पुजालाई सगुन पुजाको नामले उल्लेख भएको भाषा वंशावलीमा समेत उल्लेख रहेको पाइन्छ ।
यस दिनमा भक्तपुरका शक्तिशाली देवदेवीहरुलाई आ–आफ्नो द्यो छेंबाट निकाली प्राङगण, सतल र पाटीहरुमा राखेर पुजा आजा गरी विभिन्न प्रसादहरु चढाउने गर्दछ । यसै परम्परालाई नै सगुन जात्रा भन्ने गरिन्छ ।