मदरल्याण्ड स्कुलका विद्यार्थीहरुको प्रतिभा प्रस्तुतीकरण र उत्कृष्ट सम्मानीत

भक्तपुर, चैत्र २४
भक्तपुरको सूर्यविनायक नगरपालिका ९ भाटेढिकुरस्थित मदरल्याण्ड ईङ्गलिस बोर्डिङ स्कुलले शनिवार विद्यार्थीहरुको प्रतिभा प्रस्तुतीकरण र उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ । स्कुलको २० औं वार्षिकोत्सवको अवसरमा स्कुलको विभिन्न क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थी र स्थानीय नगर स्तरिय, जिल्ला व्यापी, प्रदेश स्तरिय, राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पुरस्कार विजेता विद्यार्थीहरुलाई सम्मान गरेको हो ।


कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले नगरपालिकाले शिक्षाको विकास र गुणस्तरिय शिक्षाको लागि प्रत्येक वर्ष बजेट बृद्धि गर्दै लगिएको जानकारी दिनुभयो । उहाँले सामूदायिक विद्यालयको गुणस्तर बृद्धि गर्नुका साथै संस्थागत विद्यालयबीच स्वस्थ प्रतिष्पर्धाको वातावरण निर्माणको लागि नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।
सो अवसरमा विद्यार्थीहरुले नृत्य, गायन र विभिन्न सांगीतिक कार्यक्रम मार्फत आफ्नो प्रतिभा प्रस्तुतीकरण गर्दै अभिभावकहरुको सम्मान गरेका थिए । साथै स्कुलका सम्पूर्ण शिक्षक शिक्षिका, कर्मचारी, स्वास्थ्यकर्मीलाई पनि सम्मान गरेको थियो । चालु शैक्षिक सत्रमा प्रत्येक कक्षाबाट उत्कृष्ट प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।


कार्यक्रममा स्कुलका प्रिन्सिपल सञ्जय खड्काले विद्यार्थीहरुको चौतर्फी विकासको लागि विद्यालयले कुनै पनि कसर बाँकी नराखेको दावी गर्नुभयो । उहाँले विद्यार्थीह्रुको प्रतिभाको मूल्यांकन गरी स्थानीय, जिल्ला, प्रदेश र राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय प्रतिष्पर्धामा समेत विद्यार्थीहरुलाई सहभागी गराएको जानकारी दिनुभयो ।
उहाँले सबै विद्यार्थीहरुमा एकै खालको प्रतिभा नहुने बताउँदैं अभिभावकहरुले उनीहरुको क्षमताका आधारमा अगाडि बढ्ने मौका दिनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्यलाई ध्यान दिँदैं विद्यालय नर्सको अवधारण अनुसार एक नर्सको समेत व्यवस्था गरिएको र ती नर्सले विद्यार्थीहरुको नियमित स्वास्थ्य परिक्षण गर्दै आएको बताउनुभयो । उहाँले स्कुलले आगामी शैक्षिक सत्रदेखी गणित ल्याव सञ्चालन गरी गणितको पनि व्यवहारिक कक्षा सञ्चालन गरी विद्यार्थीहरुलाई थप सहज र सरल तरिकाले गणितको सिकाईने जानकारी दिनुभयो ।