सतकुलपुत्त श्रामणेर प्रव्रज्या बुटवलको अन्तर्राष्ट्रिय बुद्ध परियत्ति उदय विहारमा चैत २५ गतेदेखि शुभारम्भ हुने

बुटवल, चैत २१ गते ।
सतकुलपुत्त अर्थात एकसय जना कुलपुत्रहरुको अल्पकालिन श्रामणेर प्रव्रज्या कार्यक्रम यही चैत २५ गतेदेखि बेशाख ४ गतेसम्म बुटवल, डिङ्गरनगरस्थित अन्तर्राष्ट्रिय बुद्ध परियत्ति उदय विहारमा हुन गईरहेको छ । श्वेपारमी निःशुल्क शिक्षा केन्द्र परिवार, म्यानमार र थाईल्याण्ड तथा अन्तर्राष्ट्रिय बुद्ध परियत्ति उदय विहार को संयुक्त आयोजनमा ८ देखि २० वर्षसम्मका बालकहरुलाई १० दिनको लागि प्रव्रजित गर्न लागिएको हो ।


बालकहरुलाई सानैदेखि बौद्धशिक्षा र आध्यात्मिक ज्ञान दिने उद्देश्यले सो कार्यक्रम गर्न लागिएको र यसका लागि तयारी अन्तिम चरणमा पुगेको जानकारी भिक्षु ज्ञानेन्द्रले दिनुभएको छ ।
सो कार्यक्रमका लागि उक्त विहारमा धमाधम तयारी भईरहेको जानकारी आयोजकले दिएको छ । प्रव्रज्याका लागि चीवर, पात्र, छत्र आदि सबै सामानहरुको जोहो भईसकेको र विहार परिसरलाई कार्यक्रमका लागि तयार पारिँदै छ । हाल सम्म १२५ जना कुलपुत्रहरुहले प्रव्रज्याका लागि नाम लेखाई सकेका छन् ।


चैत २५ गते शुरु हुने उक्त दुर्लभ प्रव्रज्याको प्रथम दिन विहान ७ बजे कपाल खौरेर डिंगरनगरको स्थानीय क्षेत्रमा नगरपरिक्रमा गरी विहार पुगी बुद्धपुजा, धर्मदेशना पश्चात भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा धम्मदायादहरुलाई लगेर लुम्बिनीमा श्रामणेर भावमा प्रव्रजित गराइनेछ । प्रव्रज्या कार्यक्रमपछि पुनः विहारमा नै फर्की १० दिनसम्म भगवान बुद्धले सिकाउनु भएको जीवन उपयोगी शिक्षाहरु तथा आध्यात्मिक ज्ञान, ध्यान सिकाइने छ ।