आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु

भक्तपुर, चैत्र २२
आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव आज (बिहिवार)देखी सुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरेको सो महोत्सव सल्लाघारीमा सुरु भएको हो । महोत्सव अर्को वर्षको बैशाख २ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
महोत्सव बैशाख २ गते सम्पन्न भएपनि बैशाख ३ गते विशेष सांगीतिक कार्यक्रम हुने आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । उहाँले सो सांगीतिक कार्यक्रममा नेपाली भाषी भारतीय गायक विपुल क्षेत्रीको विशेष सांगीतिक प्रस्तुती रहने उहाँले बताउनुभयो ।
“नयाँ वर्ष र भक्तपुरको विश्व प्रसिद्ध बिस्काः जात्राको अवसर पारेर विगतका वर्षमा जस्तै यसवर्ष पनि महोत्सव आयोजना गरिएको हो,” उहाँले भन्नुभयो ।
महोत्सवमा कृषि, पर्यटन, दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतको करिव २ सय स्टल रहने मेला आयोजक समितिका संयोजक दीपक थापाले जानकारी दिनुभयो । त्यसैगरी स्थानीय उत्पादन र खानाका परिकारसहितका स्टल पनि रहनेछ ।
महोत्सवको आकर्षणमा बालबालिकाको मनोरञ्जनका लागि रोटेपिङ, ब्रेकडान्स लगायत विभिन्न खेलहरु रहने छन् । त्यसै क्रममा दैनिक राष्ट्रिय स्तरका कलाकारको उपस्थितिमा विभिन्न साँस्कृतिक कार्यक्रम समेत हुने आायोजकले जानकारी दिएको छ ।


महोत्सवमा ज्येष्ठ नागरिकलाई प्रवेश निःशुल्क गरिएको छ भने विद्यार्थीलाई ५० र सर्वसाधरणलाई ७० रुपैंयाको प्रवेश शुल्क निर्धारण गरिएको छ । महोत्सवमा भक्तपुर, काठमाण्डौं, ललितपुर र काभ्रेपलाञ्चोकका करिव ५ लाख जनाले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
महोत्सवको उद्घाटन गर्दै चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले महोत्सवले अहिलेको आर्थिक मन्दीले महोत्सवमा उपलब्ध गराउने छुटको अफरले सर्वसाधारणले लाभ लिन सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भक्तपुरको स्थानीय उत्पादनले बजारीकरणको मौका पाउनुका साथै विश्वास व्यक्त गर्नुभयो । उहाँले
प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले मेला महोत्सवले आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने र सर्वसाधरणले पनि एकै थलोमा आवश्यक सामग्री सहुलियतमा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।