खेललाई व्यवसायिक बनाउनुपर्छ – मन्त्री श्रेष्ठ

भक्तपुर, चैत्र २३
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेललाई व्यवसायिक बनाउनु पर्नेमा सरकारले जोड दिइरहेको बताउनुभएको छ । अन्तराष्ट्रिय व्याडमिन्टन विकास केन्द्रले आयोजित भक्तपुर जिल्ला व्यापी अन्तर वडा कप व्याडमिन्टन प्रतियोगिताको शुक्रवार मध्यपुर थिमिको लोहकिल्थलीमा उद्घाटन गर्दै मन्त्री श्रेष्ठले खेलाडीले खेलेरै पनि जिविकोपार्जन गर्न सकिन्छ भन्ने विश्वास जगाउनुपर्ने खाँचो रहेको बताउनुभयो ।
उहाँले मन्त्रालयले खेल क्षेत्रको नीतिगत सुधारका कार्य गरिरहेको जानकारी दिँदैं खेलाडी उत्पादन हुने गरी खेल प्रतियोगिताहरु आयोजना हुनुपर्नेमा जोड दिनुभयो ।


भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले खेल क्षेत्रलाई राजनीतिबाट टाढा राख्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिनिधि सभा सदस्य सांसद सन्तोष परियारले खेलाडीहरुलाई खेल भावना र अनुशासित भएर खेल्न आग्रह गर्दै स्वस्थ नागरिक उत्पादनका लागि खेल क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
क्लव मध्यपुरका सञ्चालक अष्ट कवेले देशभर दैनिक १६ लाख जनताले नियमित अभ्यास गर्ने खेल क्षेत्रलाई सरकारले सधै उपेक्षा गरेको गुनासो गर्नुभयो । उहाँले जीवनको लागि खेल भन्ने नारालाई सार्थक बनाउन सके मात्र खेलाडीहरुको पलायनलाई रोक्न सकिने बताउनुभयो ।
केन्द्रका प्रवन्ध निर्देशक सविन ढुंगेलले व्याडमिन्टन खेल प्रतिको लोकप्रियतालाई थप उर्जा दिन प्रतियोगिता आयोजना गरेको जानकारी दिनुभयो ।