मध्यपुर थिमिका आकाशे पुलमा सँस्कृति झल्कने भित्ते चित्रकला

भक्तपुर, चैत्र २१
अरनिको राजमार्ग अन्तर्गत मध्यपुर थिमि नगरपालिकाभित्र रहेको आकाशे पुलका भित्ताहरु रंगीन र कलात्मक बनेको छ । मध्यपुर थिमि नगरपालिकाले नगरको कला सँस्कृति झल्कने गरी भित्ते चित्रकलाले रंगाएपछि आकाशे पुलका भित्ताहरु रंगीन र कलात्मक बनेको हो ।
नगरपालिकाले कौशलटार, गठ्ठाघर चोक, चारदोवाटो टि वि अस्पताल अघि, शंखधरचोक र कौशलटार र गठ्ठाघरको बीचको आकाशे पुलका भित्ताहरुलाई साँस्कृतिक भित्ते चित्रकलाले रंगाउन शुरु गरेको हो । लोहकिल्थली चोकको पुलमा भने प्राविधिक कारणले अहिले भित्तेचित्र नकोरिने नगरपालिकाले जनाएको छ ।


नगरप्रमुख सुरेन्द्र श्रेष्ठलाई नगरलाई सुन्दर बनाउन र अरनिको राजमार्ग भएर यात्रा गर्ने नागरिकलाई यहाँको कला सँस्कृतिका बारेमा केही भएपनि जानकारी दिने उद्देश्यले आकाशे पुलमा सँस्कृति झल्कने भित्ते चित्रकला कोरिएको बताउनुभयो ।
भित्ते चित्रमा नगरको मूर्त तथा अमूर्त कला सँस्कृतिको रुपमा रहेको बिस्काः जात्रा, जिब्रो छेड्ने जात्रा, मठ मन्दिर, परम्परागत लाखेलगायतका नाचसँग सम्बन्धित चित्र कोरिएका छन ।