चाँगुनारायणमा सञ्चालित सहारा परियोजनाकाबारेमा अभिमुखीकरण

भक्तपुर, चैत्र २१
चाँगुनारायण नगरपालिकामा सञ्चालित स्वस्थ बुढ्यौली (सहारा) परियोजनाका बारेमा बुधवार नगरस्तरिय अभिमुखीकरण गरेको छ । स्विस रेडक्रसको सहयोग र नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाको समन्वयमा नेपाल रेडक्रस सोसाईटीले सञ्चालन गरिरहेको सो परियोजनाको बारेमा नगरकार्यपालिका सदस्य, राजनैतिक दलका प्रतिनिधि, ज्येष्ठ नागरिक मिलन केन्द्रका संयोजक एवम् पदाधिकारी र सरोकारवालाहरुलाई अभिमुखीकरण गरेको हो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका कार्यक्रम संयोजक बालकृष्ण सेढाईंले परियोजनाको अवधारणा, उद्देश्य, यसका गतिविधि र अपेक्षाका बारेमा अभिमुखीकरण गर्नुभयो । उहाँले यो परियोजना नमूना परियोजना भएको र चाँगुनारायणमा यसले सफलता प्राप्त गरे देशका अन्य पालिकामाहरुमा पनि बिस्तार गर्ने जानकारी दिनुभयो ।
उहाँले परियोजनाले ज्येष्ठ नागरिकहरुलाई स्वस्थ र सक्रिय जीवनयापनका लागि आवश्यक कार्यक्रम सञ्चालन गरी उनीहरुलाई समाजमा सम्मानित जीवन जिउने वातावरण निर्माणको पहलकदमी, बहश पैरवी गर्ने बताउनुभयो ।
उहाँले परियोजनाले ज्येष्ठ नागरिकको पक्षमा नीतिगत व्यवस्था गर्ने, स्वास्थ्य सेवाको सहज उपलब्धता र समूदायमा ज्येष्ठ नागरिकहरुलाई सम्मानसहित विभिन्न क्रियाकलापमा सक्रिय सहभागिता गराउने जानकारी दिनुभयो ।
अभिमुखीकरणको शुभारम्भ गर्दै नगरप्रमुख जीवन खत्रीले चाँगुनारायण नगरपालिकाले ज्येष्ठ नागरिकको सम्मानित जीवनका लागि विविध कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदैं उनीहरुको सिप, ज्ञान र अनुभवबाट चाँगुनारायण लाभ लिन चाहेको बताउनुभयो ।
उहाँले सबै मानिस एक दिन ज्येष्ठ नागरिक बन्ने भएकाले अहिलेका युवा र वयस्क पिँढीले भविष्यमा आफ्नैका लागि भएपनि सहारा परियोजनालाई सफल बनाउन सबैको साथ सहयोगको खाँचो रहेको बताउनुभयो ।


कार्यक्रममा चाँगुनारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विरबहादुर खड्काले ज्येष्ठ नागरिकहरुलाई सक्रिय जीवनयापनका लागि उत्प्रेरणा दिन र उनीहरुलाई आवश्यक सहयोगका लागि यो परियोजना सञ्चालन गरिएको बताउनुभयो ।
अभिमुखीकरणमा सहभागी ज्येष्ठ नागरिक मिलन केन्द्रका संयोजक एवम् पदाधिकारीहरुले स्थानीय पाठ्यक्रममा नैतिक शिक्षाका साथै ज्येष्ठ नागरिकका विषय समावेश गर्नुपर्ने, मिलन केन्द्रलाई सहजरुपमा सञ्चालन गर्न नगरपालिकाले थप सहयोग गर्नुपर्ने, ज्येष्ठ नागरिकहरुका लागि सार्वजनिक स्थलमा व्यायामशाला निर्माण गर्नुपर्ने, ज्येष्ठ नागरिकका अनुभवलाई सिकाईको रुपमा उपयोग गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।
चाँगुनारायण नगरपालिकाका विपद विज्ञ दिनेश थापाले सहजीकरण गर्नुभएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी भक्तपुरका सभापति पर्शुराम पाण्डे, नेपाल पत्रकार महासंघका अध्यक्ष जगतकृष्ण प्रजापति, चाँगुनारायण नगरपालिका सामाजिक विकास शाखा प्रमुख निलाकुमारी घिमिरेलगायतले ज्येष्ठ नागरिकको हित गर्ने उद्देश्यले सञ्चालित नमूना परियोजनालाई सफल बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।