आइ डब्लु एफ विश्व च्याम्पियन खेलमा सहभागी हुन नेपाली भारोत्तोलन खेल टोली त्यसतर्फ प्रस्थान गर्ने

भक्तपुर, चैत्र २१

थाइल्यान्डमा भइरहेको IWF World Cup 2024, खेलमा सहभागी हुन नेपाली भारोत्तोलन खेल टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । नेपाल भारोत्तोलन संघका सदस्य राम सुन्दर श्रेष्ठ सुशनको व्यवस्थापनमा प्रशिक्षक जीवन गौतम र भारोत्तोलन खेलाडी सागर भण्डारीको टोली सो प्रतिस्पर्धाका लागि थाइल्यान्डको फुकेटमा जान लागेका हुन ।

मार्च ३१ देखि शुरु भएको उक्त प्रतिस्पर्धामा भण्डारीले पुरुष १०९ केजी माथी तौल समुहमा एप्रील ११ मा खेल्नेछन् । सागर भण्डारीले यसअघि एशियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपमा क्लिन एन्ड जर्कमा १७१ केजीको भार वहन गरि नयाँ राष्ट्रिय कीर्तिमान राखेका छन् । यसैगरी ३ सदस्यीय टोलीलाई बुधबार नेपाल ओलम्पिक कमिटीले विदाइ गरेको छ ।

कार्यक्रममा ओलम्पिक कमिटीका अध्यक्ष तथा पूर्व मन्त्री जीवनराम श्रेष्ठले सफलताको शुभकामना सहित विदाइ गर्नुभयो । नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थित मुख्यालयमा आयोजित सो कार्यक्रममा ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ, डा. ज्ञानेन्द्र शाह, नेपाल फेन्शिङ संघका महासचिव एवं कमिटीका कार्यकारी सचीव सुजनलाल श्रेष्ठ, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ बोस लगायत संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।