खोकनाको ऐतिहासिक १२ वर्षे सिकाली अजिमा जात्रा काठमाडौंमा, परम्परागत सम्पदाहरुको संरक्षण राज्यबाटै हुनुपर्ने माग

काठमाडौं, चैत्र २१
राष्ट्रकै पहिचानको रुपमा स्थापित परम्परागत अमूर्त सम्पदाहरुलाई राज्यस्तरबाटै संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न सरोकारवालाहरुले माग गरेका छन् । ललितपुर खोकनाको ऐतिहासिक १२ वर्षे सिकाली जात्रा काठमाडौं ल्याइने सम्वन्धमा जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका वक्ताहरुले यस्तो माग गरेका हुन् ।
कार्यक्रममा ज्यापु महागुथि काठमाडौं महानगर समितिका अध्यक्ष साथै सिकाली अजिमा जात्रा व्यवस्थापन तथा समन्वय समितिका संयोजक पंचलाल महर्जनले समुदायले जोगाइराखेको मूर्त अमूर्त सम्पदामा राज्यले अपनत्व लिइ सरोकार देखाउनुपर्ने माग राखे । ‘यस्तै देवी नाच लगायत समुदायले बनाएको विभिन्न अमूर्त सम्पदाहरु राष्ट्रकै पहिचान बनेको छ । यसको संरक्षण, दीगो व्यवस्थापनका लागि राज्यले नै अपनत्व लिएर अघि बढ्नुपर्ने देखिन्छ’ संयोजक महर्जनले भने ।
पत्रकार सम्मेलनमा आउँदो चैत्र २२ गते सिकाली अजिमा जात्राका देवगणहरु खोकनाबाट पैदल नै काठमाडौं आउने बताइएको थियो । चैत्र २२ गते खोकनाबाट देवगणहरु काठमाडौं पचली पुग्ने र पचलीबाट काठमाडौं विभिन्न क्षेत्र हुँदै हनुमानढोका नासल चोक पुग्नेछन् । सो क्रममा पचलीबाट देवगणहरु मचली, चल्खु, मुसुंबहाः हुँदै सिकाली, कुमाःननि, ओन्दे, ह्यूमत, जैसीदेगल, कोहिटी, भीमसेनस्थान, मरु, प्याफल, कम्पुकोटको आर्मी गेटबाट मखन महिन्द्रेश्वर महादेव हुँदै हनुमानढोका नासल पुग्नेछन् ।
परम्परा अनुसार हनुमान ढोका दरवारमा तीन वटा नाच प्रदर्शन गरिनेछ । २२ र २३ गतेका दिनमा नासल चोकमा देवी नाच प्रदर्शन गरिनेछ भने २९ र ३० गते तलेजु मन्दिर अगाडीको त्रिशुल चोकमा सिकाली अजिमा देवगणको नाच प्रस्तुत हुनेछ । २०८१ बैसाख ९ र १० गतेका दिनमा हनुमानढोका बाहिर रहेको कालभैरव पछाडीको डबलीमा नाच प्रदर्शन हुनेछ । त्यसैगरी जन समुदायबाट माग र व्यवस्थापन भएमा इन्द्रचोक, लगन र सिंहसतल लगायतका स्थानमा पनि नाच प्रदर्शन गरिने व्यवस्थापन तथा समन्वय समितिले जनाएको छ । हनुमानढोकामा हुने तीनवटा नाचको लागि करीब १७ लाख रुपैयाँको आवश्यक हुने र अन्य स्थानमा नाच प्रदर्शन गर्न स्थानीयबाटै सबै व्यवस्थापन हुनुपर्ने समितिले जनाएको छ ।
यस वर्ष सिकाली जात्राको १२ वर्षे मेला भएकोले सिकाली अजिमा देवगण काठमाडौं प्रवेश भएर विभिन्न ठाउँमा देवी नाच प्रदर्शन गर्न लागिएको ललितपुर महानगरपालिका २१ वडाका वडाध्यक्ष रविन्द्र महर्जनले बताए । ‘यो नाच विगतमा कीर्तिपुरमा पनि लग्ने गरिन्थ्यो, जुन परम्परा अहिले टुटेका छ । त्यस्तै अरु विभिन्न ठाउँहरुमा पनि लग्ने गरिन्छ । ललितपुर महानगरपालिकाबाट पनि बजेट छुट्याएर परम्परालाई निरन्तरता दिन खोजिरहेका छौं’ वडाध्यक्ष महर्जनले भने । १२ वर्षे नाच भएकोले देवगणको नयाँ पोशाक, मुकुण्डो बनाउन, पूजा व्यवस्थापन आदिका लागि ६० लाखको कोष बनाएको महर्जनले जानकारी दिए ।
कार्यक्रममा ज्यापु महागुथि काठमाडौं महानगर समितिका पदाधिकारीहरु, काठमाडौं महानगरपालिका १२ वडाका अध्यक्ष बालकृष्ण महर्जन, वडा सदस्यहरु र स्थानीय बुद्धिजीविहरु लगायतको उपस्थिती रहेको थियो ।