थिमि लाय्कु (दरवार) पुस्तक सार्वजनिक

भक्तपुर, चैत्र १७
मध्यपुर थिमिको लाय्कु (दरवार)को बारेमा लेखिएको पहिलो पुस्तक थिमि लाय्कु (दरवार) शनिवार सार्वजनिक भएको छ । थिमि लाय्कुका नायो पमा श्याम श्रेष्ठद्धारा लिखित उक्त पुस्तक बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, ईतिहास तथा सँस्कृतिविद् प्रा. डा. पुरुषोत्तम लोचन श्रेष्ठ, थिमिको यँया पुन्हीया म्ये प्वा खनेगु जात्रामा जिब्रो छेडाएर जात्रा चलाएका सँस्कृतिकर्मीहरुले संयुक्तरुपमा विमोचन गरी सार्वजनिक गर्नुभएको हो ।
सो अवसरमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख श्रेष्ठले मध्यपुर थिमिको धार्मिक, साँस्कृतिक र मूर्तअमूर्त सम्पदासँगै इतिहासको लिखित दस्तावेज नभएकाले नगरपालिकाले यसबारेमा खोज तथा अनुसन्धान गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले मध्यपुर थिमिका खोज तथा अनुसन्धानकर्ता, ईतिहासविद एवम् सँस्कृतिविदहरुसँगै मध्यपुर थिमि बाहिरका विज्ञहरुसँग समेत सहकार्य गरी मध्यपुर थिमिको ईतिहासको अनुसन्धान गर्ने जानकारी दिनुभयो ।


थिमिको शिलालेखहरुको संगालो भएता पनि ती शिलालेखहरुको अनुवाद नभएकाले त्यसलाई दस्तावेजको रुपमा विकास गर्ने योजना नगरपालिकाको भएको उहाँले बताउनुभयो ।
नगरपालिकाले थिमिको लाय्कु दरवारलाई दरवारको रुपमा संरक्षण गर्ने र एउटा जिवित संग्रहालयको रुपमा विकास गरी मध्यपुर थिमिको पर्यटनको आकर्षण स्थलको रुपमा विकास गर्ने योजना अनुसार कार्य भइरहेको बताउँदैं लाय्कुको आदर्श माविलाई जनआर्दश क्याम्पसको भवनमा स्थानान्तरण गर्ने योजना रहेको जानकारी दिनुभयो ।
बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले थिमिको विकास र कला सँस्कृतिको संरक्षणमा बागमती प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले आदर्श माविको व्यवस्थापन समितिको अध्यक्ष भएदेखी नै लाय्कुलाई लाय्कुकै रुपमा विकास गर्ने लक्ष्यका साथ काम गरिरहेको जानकारी दिँदैं जनआदर्श क्याम्पसको नयाँ भवन निर्माणका लागि ल्याएको बजेट कार्यान्वयन गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
“आदर्श मावि थिमिको शिक्षाको मियो हो । यसको विकासमा कुनै कसर बाँकी राख्ने छैन । जनआदर्श क्याम्पसमा जसरी अवरोध गर्न खोजिँदैछ त्यो कलंकित कार्य हो । यो शिक्षाको विकास विरोधी कार्य हो,” उहाँले भन्नुभयो ।


पुस्तकका लेखक पमा नायो श्यामकाजी श्रेष्ठले आफुले जाने बुझेसम्म थिमि लाय्कुबाट सञ्चालन हुने धार्मिक तथा साँस्कृतिक जात्रा पर्वहरुको बारेमा उल्लेख गरेर पुस्तक प्रकाशनमा ल्याएको जानकारी दिनुभयो । उहाँले पुस्तकमा धेरै कमीकमजोरी हुन सक्ने र कतिपय विषय छुटेको पनि हुन सक्ने बताउँदैं यो नै अन्तिम नभएको भनाई राख्नुभयो ।
पुस्तक विमोचन समितिका संयोजक चन्द्रकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाका पुर्व नगरप्रमुख मदनसुन्दर श्रेष्ठलगायतले पुस्तकको चर्चा गर्दै मध्यपुर थिमिको ईतिहासका बारेमा खोज तथा अनुसन्धान खाँचो रहेको बताउनुभयो ।