जनताले समयमा कर तिर्नुपर्छ – अध्यक्ष बिजुक्छें

भक्तपुर, चैत्र १६
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले जनताले सरकारलाई तिर्नुपर्ने कर समयमै तिर्नुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकामा ३० वर्ष सेवा पूरा गरेका र सेवा निवृत्त कर्मचारीहरुलाई शुक्रवार सम्मान गर्दै अध्यक्ष बिजुक्छेंले जनताले समयमा कर तिरेर आफ्नो कर्तव्य पुरा गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले कर्मचारीहरुले अवकाशपछिको जीवन सामाजिक गतिविधिहरुमा समर्पित गरेर समाजलाई सकारात्मक दिशामा अगाडि बढाउन सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले भक्तपुर देशकै सानो जिल्ला भएकोले भक्तपुरलाई टेस्ट ट्युबको रुपमा विकास गर्न सकिने धारणा राख्दै भक्तपुरको विकासलाई अझ परिष्कृत ढंगले अगाडि बढाउन आवश्यक भएको बताउनुभयो ।
सहकारी संस्थाहरुले सहकारीको भावना र मर्मअनुसार काम नगरेको हुँदा अहिले धेरै जनता सहकारीबाट पीडित भएको बताउँदै उहाँले जनतामाझ सहकारी शिक्षाबारे पनि कक्षा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कर्मचारीहरु राम्रा भए जनताले सहज सेवा पाउने विचार राख्दै संस्थालाई गलत दिशामा लानबाट रोक्न कर्मचारीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले कर्मचारीहरुले नेतृत्वसँग समन्वय गरी जनप्रतिनिधिको नीति र निर्देशन राम्रोसँग पालना गरी काम गरे संस्था व्यवस्थित ढंगले अगाडि बढ्ने बताउनुभयो ।


भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले जनप्रतिनिधि र कर्मचारीहरुको संयुक्त सहकार्य र हातेमालोले गर्दा भक्तपुर देशकै नमुना नगरको रुपमा परिचित बनेको बताउँदै जनताको भावना बुझेर काम गर्न कर्मचारीहरुलाई मार्गनिर्देश गर्नुभयो ।
नेपाल नगरपालिका कर्मचारी एशोसियन भक्तपुर नगरपालिका समितिका अध्यक्ष गौतमप्रसाद लासिवाले राजनीतिक रुपले सचेत कर्मचारीले मात्रै देश र जनताको हितमा काम गर्ने बताउँदै कर्मचारीहरुले अध्ययनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवालले ३० वर्ष आफ्नो कार्यकालको अनुभव सुनाउँदै कर्मचारीहरुलाई देश र जनताप्रति दत्तचित्त भएर काम गर्न प्रेरित गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकामा ३० वर्ष सेवा पूरा गरेका १५ जना र सेवा निवृत्त ८ गरी २३ जना कर्मचारीलाई बिजुक्छेँले कदर पत्र र नगर प्रमुख प्रजापतिले पुष्प गुच्छाका साथ सम्मान गर्नुभएको थियो ।