जिल्ला सहकारी संघको अध्यक्षमा रायमाझी निर्वाचित

भक्तपुर, चैत्र ३
भक्तपुर जिल्ला सहकारी संघको अध्यक्षमा ध्रुव बहादुर रायमाझी निर्वाचित हुनुभएको छ । संघको शुक्रवार सम्पन्न २५ औं वार्षिक साधारणसभामा रायमाझी ७१ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँका प्रतिष्पर्धी गणेशमान चक्रधरले ५९ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक अधिवक्ता किरण न्यौपानले बताउनुभयो ।
संघको उपाध्यक्षमा विरेन्द्रभक्त प्रधानाङ्ग ७४ मत ल्याई निर्वाचित हुँदा उहाँका प्रतिष्पर्धी रामसुन्दर श्रेष्ठले ५४ मत प्राप्त गर्नुभयो । महिला उपाध्यक्षमा ७० मतका साथ सहना पसखल निर्वाचित हुनुभयो भने उहाँका प्रतिष्पर्धी सविता खत्रीले ५८ मत प्राप्त गर्नुभयो । संघको सचिवमा रामप्रसाद कासुला निर्वाचित हुनुभयो । उहाँले ६९ मत प्राप्त गर्दा प्रतिष्पर्धी राजभाई जयनाले ६० मत प्राप्त गरेको न्यौपानले बताउनुभयो ।


यसैगरी कोषाध्यक्षमा राजकुमार सिलवाल ७१ मत ल्याई निर्वाचित हुँदा उत्तम सापकोटाले ६१ मत प्राप्त गर्नुभयो । सञ्चालक समिति सदस्यहरुमा मनोज गिरी ७१, विकास खड्का ६७, रामचन्द्र गोसाईं ७०, सुलोचना दुवाल ७१, नारायण प्रसाद स्वंगमिखा ६९, सरीता थापा ६८ मत ल्याई निर्वाचित हुनुभयो ।
लेखा सुपरिवेक्षण समितिको संयोजकमा पुस्कर देउजा ५३ मतका साथ निर्वाचित हुँदा आशाराम खुसुले ४९ र कृष्णहरी सैंजुले २३ मत प्राप्त गर्नुभयो । समितिको सदस्यमा सावित्री थापा निर्विरोध निर्वाचित हुँदा कृष्णमान प्रजापति ६३ मत प्राप्त गरी निर्वाचित हुनुभयो । उहाँका प्रतिष्पर्धी गुणकेशरी श्रेष्ठले ६१ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिए ।


यसअघि संघको साधारण सभा उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले सहकारी ठगीमा संलग्न जो सुकैलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । उहाँले जनताको रगत पसिना बगाएर कमाएको वचत हिनामिना गर्ने आरोप लागेका व्यक्ति नै गृहमन्त्री बनेको अवस्थामा सहकारी पिडितले न्याय पाउँदैन की भन्ने आशंका समेत उत्पन्न भएको बताउनुभयो ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले सहकारी ऐन र नियमावली जारी गरिसकेको अवस्थामा सहकारीबाट ऋण लिएर समयमा सावाँ व्याज नबुझाउनेलाई सदस्यलाई कारवाहीको दायरामा ल्याउन सकिने व्यवस्था भइसकेको जानकारी दिनुभयो । उहाँले वचत रकम हिनामिना गर्ने, व्यक्तिगत व्यवसायमा लगानी गर्ने सञ्चालकको सम्पत्ति रोक्का राख्न सकिने व्यवस्था समेत ऐनमा गरिएको बताउनुभयो ।
उहाँले संघले अहिलेको सहकारीमा देखिएको संकटमा नेतृत्वदायी भूमिका निर्वाह गरेर सहकारी पिडितलाई न्याय दिलाउने अग्रणी भूमिका खेल्नुपर्नेमा समेत जोड दिनुभयो ।
उपप्रमुख विजयकृष्ण श्रेष्ठले नगरपालिकाले सहकारी पिडितको पक्षमा धेरै काम गरेको चर्चा गर्दै वचतकर्ताको वचतको सुरक्षा र सहकारी आन्दोलनलाई दिगो बनाउन संघहरुले पनि भूमिका खेल्नुपर्ने बताउनुभयो ।
संघका अध्यक्ष केदार खड्काको अध्यक्षतामा सम्पन्न साधारण सभाले विभिन्न प्रस्तावहरु सुझावुसहित पारित गरेको थियो ।