मीनकुमारी प्रतिष्ठानले न्यौपाने, नेपाल र थापामगरलाई सम्मान गर्ने

भक्तपुर, माघ १४
मीनकुमारी राणा प्रतिष्ठानले यसवर्ष नेपाली कांग्रेस भक्तपुरका नेता लेखनाथ न्यौपाने, बक्सिङका पूर्व राष्ट्रिय खेलाडी एवम् हालका प्रशिक्षक प्रकाश थापामगर र वरिष्ठ पत्रकार किशोर नेपाललाई सम्मान गर्ने भएको छ ।
स्व. मीनकुमारी राणा वरिष्ठ पत्रकार एवम् कांग्रेस नेता कविर राणा र बक्सिङका पूर्व खेलाडी, समाजसेवी एवम् कांग्रेसका युवा नेता रवि राणामा माता हुनुहुन्छ । राणा दाजुभाईले आमाको स्मृतिमा प्रतिष्ठान स्थापना गर्नुभएको हो । प्रतिष्ठानले प्रत्येक वर्ष प्रजातन्त्र स्थापनाका लागि योगदान दिने एक जना प्रजातन्त्र सेनानी, एक जना खेलाडी र एक जना वरिष्ठ पत्रकारलाई सम्मान गर्ने नीति लिएको प्रतिष्ठानका अध्यक्ष कविर राणाले बताउनुभयो ।
सोही अनुसार यसवर्ष लेखनाथ न्यौपानेलाई प्रजातन्त्र सेनानी, थापा मगरलाई राष्ट्रिय खेलकुद र नेपाललाई पत्रकारिता सम्मान गर्न लागिएको प्रतिष्ठानका महासचिव रबि राणाले जानकारी दिनुभयो ।
सम्मान यही माघ २५ गते स्व. मीनकुमारीको स्मृति दिवसको दिन राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा सम्मान गर्ने निर्णय भएको राणाले बताउनुभयो ।
सम्मानीतको छनोटको लागि संस्थाका अध्यक्ष राणा, सल्लाहकारहरु डा. ध्रुवचन्द्र गौतम, हरिहर विरही र माथवरसिंह बस्नेत र महासचिव रबि राणा रहेको समिति गठन गरिएको थियो । सोही समितिले न्यौपाने, नेपाल र थापामगरलाई सम्मान गर्न सिफारिस गरिएको थियो ।