भक्तपुरमा नयाँ कुष्ठरोगीको संख्या शुन्य

भक्तपुर, माघ १४
भक्तपुरमा नयाँ कुष्ठरोगीको संख्या शुन्य रहेको छ । पुराना तीन जना कुष्ठरोगीको उपचार भइरहेको भक्तपुरमा गत आर्थिक वर्ष २०७९÷०८० मा नयाँ कुष्ठरोगीको संख्या शुन्य रहेको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म पनि जिल्लामा नयाँ कुष्ठरोगी नभेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
७१ औं विश्व कुष्ठरोग दिवसको अवसरमा आइतवार स्वास्थ्य कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कुष्ठरोग फोकल पर्सन भोला पौडेलले गतवर्ष भक्तपुरमा ५ जना कुष्ठरोगी भएकोमा २ जनाले औषधीको मात्रा पुरा गरेको र हाल ३ जनाले नियमित औषधी सेवन गरी स्वास्थ्यलाभ लिइरहेको जानकारी दिनुभयो ।
उहाँले जिल्लामा कुष्ठरोग नियन्त्रण र रोकथामका लागि स्वास्थ्यकर्मीहरुका लागि कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन सम्बन्धी अभिमुखीकरण, कुष्ठरोगको आधारभुत र अपांगता व्यवस्थापन तथा पुर्नस्थापना सम्बन्धी तालिम, बहु औषधी व्यवस्थापन, कुष्ठरोग सुदृढिकरण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत अस्मिता ओझाले कुष्ठरोग सम्बन्धी गलत अवधारणा हटाउने उद्देश्यले यसवर्ष ‘कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अनत्य गरौं, मर्यादित व्यवहार गरौं’ भन्ने नाराका साथ यो दिवस मनाईएको बताउनुभयो ।
उहाँले पछिल्लो समय शंकास्पद बिरामीहरुमा परिक्षणको दर बढ्दै जादा नयाँ संक्रमितहरु थपिदै गएको बताउनुभयो । ‘प्रति १० हजार जनसंख्यामा १ जना भन्दा बढीमा कुष्ठरोगका बिरामी भेटिए त्यस जिल्लालाई हाल प्रभावित जिल्ला भनेर सोही अनुरुप सम्भावित बिरामी खोज्नको लागि परिक्षणको दायरा बढाएका कारण पनि नेपालमा कुष्ठरोगीको संख्या बढेको हो,’ उहाँले भन्नुभयो ।
उहाँले समाजमा जनचेतना फैलाएर रोगीलाई स्वतःस्फुर्तरुपमा उपचारमा आउन प्रेरित गर्ने कार्यमा सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण हुने बताउँदैं सञ्चारमाध्यमहरुले निरन्तर कुष्ठरोगको बारेमा विद्यमान गलत अवधारणा हटाएर रोगीलाई मर्यादित व्यवहार गर्ने वातावरण निर्माणका लागि सकारात्मक समाचार सम्प्रेषण गनुपर्नेमा जोड दिनुभयो ।
‘अझैसम्म पनि हामीले कुष्ठरोग भनेको पापका कारण लाग्ने होइन भन्ने अन्धविश्वास हटाउन सकेका छैनौं,’ उहाँले भन्नुभयो, ‘यही कारण अहिले पनि कति कुष्ठरोगीहरु उपचार नै नगरी रोग नै लुकाएर बसेका पनि होलान् ।’


कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले नेपालमा सन् २०१० मै कुष्ठरोग निवारण भइसकेको घोषणा गरिएको भएता पनि अझै यो नेपालको जनस्वास्थ्यको चुनौतीको रुपमा रहेको बताउनुभयो । उहाँले हाल नेपालमा कुष्ठरोगीको संख्या प्रति १० हजार जनसंख्यामा १.२ जना रहनुले सन् २०३० सम्म नेपालबाट कुष्ठरोग उन्मुलन गर्ने लक्ष्य पुरा हुनेमा आशंका गर्नुभयो ।
उहाँले कुष्ठरोगको नयाँ बिरामी बढ्नुले अझै कुष्ठरोगी लुकेर बसेका छन भन्ने स्पष्ट पारेको बताउँदैं यसकारण खोजी कार्य र परीक्षणको दायरा फराकिलो बनाउन आवश्यक भएको सुझाव दिनुभयो । उहाँले कुष्ठरोगको बारेमा पुराना पुस्तामा रहेको गलत अवधारणा र भ्रम हटाउन नयाँ पुस्ताका बालबालिकाको उपयोग गर्नुपर्ने र यसका लागि विद्यालयमा कुष्ठरोगका गलत अवधारणाका बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने खाँचो औंल्याउनुभयो ।
कुष्ठरोग छाला र नसामा असर गर्ने सरुवा रोग हो । कुष्ठरोग माइकोब्याक्टेरियम लेप्रे र माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिसजीवाणु (ब्याक्टेरिया)को कारणले हुन्छ । समयमा नै उपचार नगरे यसले मानिसको शरिरमा विभिन्न अङ्गभङ्ग गराउँछ । उपचार नगरेका कुष्ठरोगीहरुको संसर्गमा लामो समयसम्म उठबस गर्नाले यो रोगको किटाणु बिरामी मानिसबाट स्वस्थ मानिसमा पनि सर्दछ र यदि उक्त स्वस्थ मानिसको शरिरमा कुष्ठरोग प्रतिरोधात्मक क्षमतामा कमि भएको रहेछ भने उक्त मानिसमा समेत कुष्ठरोग लाग्न सक्छ ।
छालामा छँुदा थाहा नपाउने, नदुख्ने नचिलाउने लाटा फुस्रा दागहरु देखा पर्ने र बिस्तारै हात खुट्टा झम झममुमाउने, छालामा गिर्खाहरु आउने, अनुहारको छाला तथा कानका लोतीहरु मोटो तथा चिप्लो हुने यसका लक्षणहरु हुन । समयमा नै उपचार नगरे हात खुट्टाहरुमा नदुख्ने घाउहरु हुने औलाहरु बाङ्गो हुने झर्ने आँखा बन्द गर्न नसक्ने लगायतका असर कुष्ठरोगले गर्न सक्छ ।
समाजमा कुष्ठरोग सम्बन्धी अनेक गलत धारणाहरु रहेको छ । विशेषगरी यो रोग पाप कर्मको परिणाम हो भन्ने नितान्त गलत धारणा समाजमा व्याप्त रहेको छ । साथै यो रोग वंशाणुगत हो भन्ने समेत गलत धारणा रहेको छ ।
जसले गर्दा कुष्ठरोगीलाई छिछि र दुरदुरको व्यवहार हुने गरेको छ । एउटा विरामी व्यक्तिप्रति समाज र परिवारबाट समेत अमानवीय र अमर्यादित व्यवहार गर्ने गरेको पाईन्छ । कुष्ठरोगीलाई समाजले हेर्ने गलत दृष्टिकोण र अवधारणा, व्यवहारका कारण यो रोग लुकाउने, खुलेर उपचार पद्धतीमा नआउने समस्या रहेको छ ।
यसको उपचार बहुऔषधि विधिबाट गरिन्छ । जसअनुसार बढी किटाणु भएका अर्थात (एमबी) कुष्ठरोग बिरामीले १२ महिना र कम किटाणु भएका अर्थात (पीबी) कुष्ठरोग बिरामीले ६ महिना नियमित औषधि सेवन गर्नुपर्दछ । बिरामीले घरैमा बसेर औषधि सेवन गर्न सक्दछन् । बहुऔषधीको १ मात्राले नै ९९ प्रतिशत किटाणु निस्क्रिय बनाइदिन्छ । तसर्थ उपचार गरेका बिरामीबाट रोग अरूलाई सर्दैन । कुष्ठरोगको उपचार स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ ।