आज विश्व कुष्ठरोग दिवस, विविध कार्यक्रम आयोजना गरी मनाईंदै

भक्तपुर, माघ १४
आज विश्व कुष्ठरोग दिवस । यस अवसरमा ‘कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अनत्य गरौं, मर्यादित व्यवहार गरौं’ भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी यो दिवस मनाईंदै छ ।
कुष्ठरोग छाला र नसामा असर गर्ने सरुवा रोग हो । कुष्ठरोग माइकोब्याक्टेरियम लेप्रे र माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिसजीवाणु (ब्याक्टेरिया)को कारणले हुन्छ । समयमा नै उपचार नगरे यसले मानिसको शरिरमा विभिन्न अङ्गभङ्ग गराउँछ । उपचार नगरेका कुष्ठरोगीहरुको संसर्गमा लामो समयसम्म उठबस गर्नाले यो रोगको किटाणु बिरामी मानिसबाट स्वस्थ मानिसमा पनि सर्दछ र यदि उक्त स्वस्थ मानिसको शरिरमा कुष्ठरोग प्रतिरोधात्मक क्षमतामा कमि भएको रहेछ भने उक्त मानिसमा समेत कुष्ठरोग लाग्न सक्छ ।
छालामा छँुदा थाहा नपाउने, नदुख्ने नचिलाउने लाटा फुस्रा दागहरु देखा पर्ने र बिस्तारै हात खुट्टा झम झममुमाउने, छालामा गिर्खाहरु आउने, अनुहारको छाला तथा कानका लोतीहरु मोटो तथा चिप्लो हुने यसका लक्षणहरु हुन । समयमा नै उपचार नगरे हात खुट्टाहरुमा नदुख्ने घाउहरु हुने औलाहरु बाङ्गो हुने झर्ने आँखा बन्द गर्न नसक्ने लगायतका असर कुष्ठरोगले गर्न सक्छ ।
समाजमा कुष्ठरोग सम्बन्धी अनेक गलत धारणाहरु रहेको छ । विशेषगरी यो रोग पाप कर्मको परिणाम हो भन्ने नितान्त गलत धारणा समाजमा व्याप्त रहेको छ । साथै यो रोग वंशाणुगत हो भन्ने समेत गलत धारणा रहेको छ ।
जसले गर्दा कुष्ठरोगीलाई छिछि र दुरदुरको व्यवहार हुने गरेको छ । एउटा विरामी व्यक्तिप्रति समाज र परिवारबाट समेत अमानवीय र अमर्यादित व्यवहार गर्ने गरेको पाईन्छ । कुष्ठरोगीलाई समाजले हेर्ने गलत दृष्टिकोण र अवधारणा, व्यवहारका कारण यो रोग लुकाउने, खुलेर उपचार पद्धतीमा नआउने समस्या रहेको छ ।
यो किटाणु एउटा विरामी व्यक्तिबाट अर्को स्वस्थ व्यक्तिमा सर्ने हुँदा एकै घरपरिवारमा बस्ने ब्यक्तिहरुमा यो सजिलै सर्नसक्ने भएकाले कहिलेकाहीँ एउटै आमाबाबुमा भएको रोग छोराछोरीमा सर्न सक्दछ, यसैका कारण यो बंशाणुगत अथवा जन्मजातमै आउने रोग हो भन्ने धारणा बनाउनु गलत हो ।
यसको उपचार बहुऔषधि विधिबाट गरिन्छ । जसअनुसार बढी किटाणु भएका अर्थात (एमबी) कुष्ठरोग बिरामीले १२ महिना र कम किटाणु भएका अर्थात (पीबी) कुष्ठरोग बिरामीले ६ महिना नियमित औषधि सेवन गर्नुपर्दछ । बिरामीले घरैमा बसेर औषधि सेवन गर्न सक्दछन् । बहुऔषधीको १ मात्राले नै ९९ प्रतिशत किटाणु निस्क्रिय बनाइदिन्छ । तसर्थ उपचार गरेका बिरामीबाट रोग अरूलाई सर्दैन । कुष्ठरोगको उपचार स्वास्थ्य संस्थामा निःशूल्क पाइन्छ ।
सञ्चारमाध्यमहरुबाट भएको प्रचार तथा कुष्ठरोगको प्रभावकारी उपचारको फलस्वरुप आजभोलि समाजमा रहेको कुष्ठरोग सम्बन्धी गलत धारणा तथा अमानवीय व्यवहारमा कमी आउन थालेको छ ।
यस रोगबाट बच्नको लागि कुनै खोप इत्यादि छैन । त्यसैले हाम्रो शरिरमा रोग विरुद्ध प्रतिरोधात्मक शक्ति तन्दुरुष्ट राख्ने, स्वस्थ खानपान, सरसफाई, स्वस्थ वातावण तथा प्रशस्त हावा र उज्यालो पुग्ने बसाई अपनाउनु पर्दछ ।