इनारमा खसेकी महिलाको सकुशल उद्धार

भक्तपुर, माघ १
ललितपुरको महालक्ष्मी नगरपालिका–३ खन्ना गार्मेण्ट नबिनटोलस्थित रेखा यादवको घर कम्पाउण्डमा रहेको इनारमा सोमवार बिहान खसेकी महिलालाई प्रहरीले सकुशल उद्धार गरेको छ । करिव ३० फिट गहिरो इनारमा खसेकी सोही घरमा डेरा गरी बस्ने दोलखाकी २८ वर्षिय नुतन प्रधानलाई प्रहरीले सकुशल उद्धार गरेको हो ।
प्रहरीले उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको जनाएको छ । इनारमा महिला खसेको सूचना प्राप्त भएपछि प्रहरी वृत्त सातदोवाटोका प्रमुख प्रहरी नायव उपरिक्षक उमेश जोशीको नेतृत्वमा ३० जनाको प्रहरी टोली उद्धारका लागि खटिएको थियो ।
घटनास्थलमा विपद् ब्यवस्थापन कार्यालय सामाखुशीबाट खटिएको प्रहरी टोली र ललितपुर महानगरपालिकाको दमकल सहितको उद्वार टोलीको सहयोगले महिलालाई करिव साढे दुई घण्टापछि सकुशल उद्धार गर्न सफल भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।