मध्यपुर थिमि नगरपालिकाको ९ औं नगरसभा सम्पन्न

भक्तपुर, माघ १
मध्यपुर थिमि नगरपालिकाको नगरसभाको ९ औं अधिवेशन आइतवार सम्पन्न भएको छ । नगरप्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको नगरसभाको नवौं अधिवेशनले आगामी आर्थिक वर्ष २०८१÷०८२ देखी आर्थिक वर्ष २०८३÷०८४ सम्म तीन वर्षको राजश्व तथा आय प्रक्षेपणलाई सर्वसम्मत पारित गरेको छ ।
नगरसभा बैठकले नगर सभाबाट गठित समितिहरुको कार्य सञ्चालन कार्यविधि २०८०, नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल सञ्चालन तथा व्यवस्थापन विधेयक २०८० पारित गरेको नगरप्रवक्ता एवम् वडा नं. ३ का वडाअध्यक्ष कृष्णहरि आचार्यले जानकारी दिनुभयो ।


बैठकले नगरपालिका क्षेत्र भित्रका सार्वजनिक सरकारी जग्गाको विवरण र नगरपालिकाको भौतिक सम्पत्ति विवरण अद्यावधिक गरि स्विकृत गर्न कार्यपालिकालाई अधिकार प्रत्योजन गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा वडा नं. ४ का वडाअध्यक्ष बालकृष्ण पात्या श्रेष्ठ, वडा नं. ८ का वडाअध्यक्ष रमेश थापा श्रेष्ठ, वडा नं. ७ का वडाअध्यक्ष कृष्णकुमार प्रजापति, वडा नं. ९ का वडाअध्यक्ष सानुकाजी राजबाहक, नगरसभा सदस्य शेखर थापामगर, रविन सिजापति, उमेश श्रेष्ठ, रामचन्द्र थापामगरलगायतले विविध विषयमा आफ्नो धारणा राख्दै थप जिज्ञासा राख्नुभएको थियो ।


बैठकमा उपप्रमुख विजयकृष्ण श्रेष्ठले चालु आर्थिक वर्षको राजश्व संकलन तथा आन्तरिक आम्दानीको अर्धवार्षिक समिक्षा प्रस्तुत गर्दै विकास निर्माणको गतिलाई थप तिव्रता दिनुपर्ने आवश्यक रहेको बताउनुभयो ।
नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकालाई विधिसम्मत र पारदर्शी ढंगले सञ्चालन गर्ने उद्देश्य अनुसार नगरसभाको हिउँदे अधिवेशन अन्तर्गत केही आवश्यक ऐन कानून निर्माणका लागि बैठक राखिएको जानकारी दिँदैं वित्तिय सुशासन कायम राख्दै विकास निर्माणलाई थप जनसहभागितामूलक बनाउँदै लैजाने बताउनुभयो ।उहाँले नगर सभा सदस्यहरुले राखेका जिज्ञासालाई समाधान गर्दै जनप्रतिनिधिहरुले जनताको सेवकको रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।