जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा भक्तपुर प्रथम

भक्तपुर, पुस २९
जिल्लास्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा भक्तपुर नगरपालिका प्रथम भएको छ । प्रतियोगितामा भक्तपुर नगरपालिका ३२ स्वर्णसहित प्रथम भएको हो ।
यसैगरी मध्यपुर थिमि नगरपालिका १९ स्वर्णसहित दोस्रो, सूर्यविनायक नगरपालिका ९ स्वर्णसहित तेस्रो र ७ स्वर्णसहित चाँगुनारायण नगरपालिका चौंथो भएको भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले जानकारी दिनुभयो ।
सो अवसरमा विजेता खेलाडी र विद्यालयलाई पुरस्कृत गर्दै नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले भक्तपुरको चित्तपोलमा अन्तराष्ट्रिय रंगशाला बन्न नदिनेहरु बेइमान र बदमास भएको बताउँदैं उक्त रंगशाला नबन्दा भक्तपुर विकासमा समेत पछि परेको टिप्पणी गर्नुभयो ।


जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर थापाले विद्यार्थीहरुलाई खेल क्षेत्रमा लाग्न प्रोत्साहन दिदै राष्ट्रिय तथा अन्तरांष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता हुनु भक्तपुरकै लागि गौरव भएको बताउनुभयो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति दीपक थापाले भक्तपुरमा आफ्नै भवन निर्माण, खेल मैदानको निर्माण, कबर्ड हलको निर्माणदेखि विद्यालय र टोलटोलमा खेलकुदको विकासका लागि समितिले कार्य गरेको बताउनुभयो । उहाँले भक्तपुरलाई सम्पदाको मात्र नभएर खेलकुदको शहर भनेर समेत चिनिन थालेको बताउनुभयो ।
कार्यक्रममा नेपाल भलिबल संघका उपाध्यक्ष गौतमप्रसाद लासिवा, जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण राय, प्याव्सन भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्र श्रेष्ठ, नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्का, नेपाल तेक्वान्डो संघका जिल्ला अध्यक्ष श्याम तजले, भक्तपुर एथलेटिक्स संघका अध्यक्ष आशाराम गोथे लगायतले खेलकुदको महत्व माथि प्रकाश पार्नुभएको थियो ।
प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्टतर्फ उसु, तेक्वान्दो र कराँतेका विभिन्न स्पर्धामा ७५२ जना छात्रछात्राको सहभागिता रहेको थियो ।