भक्तपुरमा माघे संक्रान्ति मनाउने परम्पराका बारेमा उपप्रधानमन्त्री खड्काको चासो

भक्तपुर, माघ १
उपप्रधान तथा रक्षामन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भक्तपुरमा माघे संक्रान्ति मनाउने परम्पराको बारेमा चासो व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् सांसद दुर्लभ थापाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन सोमवार थापा निवास सल्लाघारी पुग्नु भएका उपप्रधानमन्त्री खड्काले सो चासो व्यक्त गर्नुभएको हो ।
आङनो सत्कारमा सांसद थापाकी धर्मपत्नीले घिऊ, चाकू र तरुल सेवनका लागि दिएपछि उपप्रधानमन्त्री खड्काले भक्तपुरमा माघे संक्रान्ति मनाउने परम्पराका बारेमा चासो राख्नुभएको थियो । “भक्तपुरमा माघे संक्रान्ति मनाउने प्रचलन कस्तो छ ? यहाँ यो पर्व कसरी मनाईन्छ ? उहाँले थापा निवासमा उपस्थित कांग्रेस नेता कार्यकर्तासँग प्रश्न गर्नुभयो ।
उहाँको जिज्ञासामा सांसद थापाले अन्य समूदायले विशेष गरी घिऊ, चाकु, तरुल सेवन गर्ने, शरीरको तागतको लागि तेल लगाउने प्रचलन भएपनि बौद्धमार्गीहरुले सम्यक महादान पर्वको रुपमा मनाउने गरेको जानकारी गराउनुभयो । “भक्तपुरका सबै महाविहारबाट दिपंकर बुद्धलाई दुधपाटीस्थित भुईख्यमा ल्याईन्छ । त्यहाँ उपस्थित बौद्धमार्गी र अन्य सर्वसाधारणले पनि गच्छे अनुसार सम्यक महादानको रुपमा भूमिमा उव्जाउ हुने सबै प्रकारका अन्न, गेडागुडीहरुका साथै फलफुल र मिठाई दान गरिन्छ । साथै धान, चामल, लड्डु, पुरी र दक्षिणा दान गरिन्छ,” सांसद थापाले भन्नुभयो ।


सो अवसरमा थापाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदैं उपप्रधानमन्त्री खड्काले शिघ्र स्वास्थ्यलाभको पनि कामना गर्नुभयो । करिव डेढ घण्टा थापा निवासमा बिताउनुभएका उपप्रधानमन्त्री खड्काले सो अवसरमा जिल्लास्थित नेता कार्यकर्ताहरुसँग विविध विषयमा छलफल समेत गर्नुभएको थियो । उहाँले विकास निर्माणमा समेत चासो व्यक्त गर्दै जनताको माझमा रहेर राजनीति गरेमात्र सफल भइने सुझाव समेत दिनुभयो ।
सो अवसरमा नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिका सचिवद्धय सुशिल बस्नेत र राजेश खड्का, बागमती प्रदेशका पुर्वमन्त्री कृष्णलाल भँडेल, भक्तपुर क्षेत्र नं. २ का क्षेत्रीय सभापति एवम् चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, सूर्यविनायक नगरसमितिका सभापति निशान ढुंगेललगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।