विद्यालयहरुले मुलुकको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ–उपराष्ट्रपति यादव

भक्तपुर, मंसिर २७
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विद्यालयहरुले मुलुकको लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । भक्तपुरको दरवारस्क्वायरस्थित श्री पद्य माध्यामिक विद्यालयको बुधवार आयोजित शतवार्षिकोत्सव समारोहलाई उद्घाटन गर्दै उपराष्ट्रपति यादवले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक शिक्षिका, विद्यार्थी र अभिभावकहरुले एक आपसमा सहकार्य गरी दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले भक्तपुरको शिक्षाको विकासमा श्री पद्यको उच्च स्थान रहेको पाएको बताउँदैं विद्यालयले शिक्षासँगसँगै खेलकुद, परम्परागत कलासँस्कृति जगेर्नामा विद्यार्थीहरुलाई जागरुक बनाउनु सह्रानीय पक्ष रहेको उल्लेख गर्नुभयो ।


कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले श्री पद्य स्मारिक विमोचन गर्दै आफुले अध्ययन गरेको विद्यालयको शतवार्षिकोत्सवमा अतिथी बनेर आउन पाउँदा ज्यादै खुसी लागेको बताउनुभयो । उहाँले २०७२ को भूकम्पले क्षती गरेको विद्यालयको भवन अझै पनि पुनःनिर्माण हुन नसकेकोमा दुःख व्यक्त गर्दै ती भवन पुनःनिर्माणका लागि आवश्यक बजेटका लागि बागमती प्रदेश सरकारमा पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तिलकप्रकाश कायष्ठले तत्कालिन राजनैतिक व्यवस्थाको कठिन समयमा स्थापना भएको यो विद्यालय भक्तपुरको शानको रुपमा स्थापित भएको बताउनुभयो ।
विद्यालयका पूर्वप्रधानाध्यापक विक्रमबहादुर कायष्ठले भक्तपुरमा शिक्षाको विकासमा श्री पद्य माविको अतुलनीय योगदान रहेको चर्चा गर्नुभयो ।

विद्यालयका प्राचार्य राम हाडाले विद्यालय र कलेजको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले शिक्षाका साथै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप र सामाजिक कार्यमा पनि सहभागी गराई असल नागरिक बनाउन योगदान दिँदैं आएको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता बाबुराजा जोशीले विद्यालयको भवन निर्माणका साथै भौतिक पूर्वाधार विकास गरी विद्यार्थीहरुलाई सहज र सरल शिक्षा आर्जन गर्ने वातावरण निर्माणका लागि सबैको सहकार्य र सहयोगको खाँचो रहेको बताउनुभयो ।

विद्यालयको शतवार्षिकोत्सवको अवसरमा पूर्व प्रधानाध्यापकहरु नृपतिलाल प्रधानाङ्ग, विक्रमबहादुर कायष्ठ र रामगोपाल कर्माचार्यलाई सम्मान गरिएको थियो । यसैगरी शैक्षिक सत्र २०७९÷०८० को कक्षा १२ पुरा गरेका विद्यार्थीहरु मध्येबाट उत्कृष्ट अंक ल्याउन सफल प्राविधिक धार सिभिल ईञ्जिनियरिङ तर्फबाट छात्रा सञ्चिता तिमल्सिना, २०७९ को एसईई पुरा गरेका मध्येबाट उत्कृष्ट अंक ल्याउन सफल छात्रा कृष्टिना ढुंगानालाई स्वर्ण पदकसहित सम्मान गरिएको थियो ।
नगद २५ हजार राशीको स्व. निरञ्जन नारायण धौभडेल स्मृति छात्रवृत्ति एसईई २०७९ मा उत्कृष्ट अंक ल्याउन सफल कृष्टिना ढुंगानालाई, नगद १५ हजार राशीको चन्द्रकेशरी प्राधानाङ्ग स्मृति छात्रवृत्ति एसईई प्राविधिक धारतर्फ सिभिल ईञ्जिनियरिङका उत्कृष्ट विद्यार्थी मालवी तामाङ्गलाई प्रदान गरिएको थियो ।

यस्तै शिक्षासेवी स्व. माधवशंकर जोशी र स्व. रत्नकेशरी जोशी स्मृति छात्रवृत्ति एसईई २०७९ मा उत्कृष्ट अंक ल्याउने छात्र सुवास थापा, छात्रातर्फ रोजिना तामाङ, कक्षा १२ मा उत्कृष्ट अंक ल्याउन सफल सञ्चिता तिमल्सिनालाई स्व. पञ्चलाल कृष्ण शोभा धौभडेल छात्रवृत्ति, गरीब तथा जेहेन्दार विद्यार्थी किरण पाण्डेलाई लसता कायष्ठ समृति प्रतिष्ठानको स्व. नारायणभक्त हाडा स्मृति छात्रवृत्ति, विसन कासुलालाई स्व. श्री विष्णुचरण राय स्मृति छात्रवृत्ति प्रदान गरिएको थियो ।
यसैगरी शाहाबुन खातुनलाई २०५० एसएलसी व्याच जेहेन्दार छात्रवृत्ति, २०७९ को जिल्ला स्तरीय परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउन सफल छात्र निरज राई र छात्रा इतुसा वनेमलाई जनही ५ हजार नगद राशीको मथुरादेवी प्रधानाङ्ग स्मृति छात्रवृत्ति, नगद ७ हजार राशीको सहिद राधेश्याम जोन्छे स्मृति छात्रवृत्ति कक्षा १२ को व्यवस्थापन संकायतर्फ होटल म्यानेजमेन्टमा उत्कृष्ट अंक ल्याउन सफल छात्रा प्रविना थापालाई प्रदान गरिएको थियो ।


एसएलसी व्याच २०४३ सालका विद्यार्थीद्धारा स्थापित जेहेन्दार तथा अनुशासित छात्रवृत्ति प्राविधिक धारतर्फ कक्षा १२ मा अध्ययनरत छात्रा करुणा लामालाई प्रदान गरिएको थियो भने एसईई २०७९ मा ए प्लस ल्याउन सफल विद्यार्थीहरु र शैक्षिक सत्र २०७९÷०८० को कक्षा १२ को परीक्षामा उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई पदकसहित सम्मान गरिएको थियो । सो अवसरमा विद्यार्थीहरुले विविध साँस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको थियो ।