नक्कली कागजपत्रको आधारमा विदेश पठाएको आरोपमा ३२ जना पक्राउ

भक्तपुर, मंसिर २७
नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले अध्यागमन विभागदेखि प्रहरी, नेपाल वायुसेवा निगमका कर्मचारी, कन्सल्टेन्सी सञ्चालक, ट्राभल एजेन्सीका कर्मचारीसहित ३२ जनालाई पक्राउ गरी बुधवार सार्वजनिक गरेको छ ।
उनीहरुलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न मिति र स्थानबाट पक्राउ गरी सार्वजनिक गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले गत असोज १९ गतेदेखि हालसम्म उक्त प्रकरणका ३२ जनालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।

 

 

उहाँका अनुसार नक्कली कागजात बनाई भिजिट भिसामा विदेश जाने प्रकरणमा पक्राउ परेकामध्ये कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी १ जना, पूर्वप्रहरी १ जना, एयरलाइन्सका २ जना र अन्य विभिन्न सेटिङमा संलग्न व्यक्ति ११ जना छन् । सो प्रकरणमा ९ जनाको संगठित अपराधमा अनुसन्धान भइरहेको र लिखत सम्बन्धी कसुरमा १२ जनाको अनुसन्धान भइरहेको जानकारी दिँदैं उहाँले ८ जना धरौटीमा छुटिसकेको र थप ३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान प्रारम्भ गरिएको बताउनुभयो ।
प्रहरी उपरिक्षक रविन्द्र रेग्मीका अनुसार पक्राउ पर्नेहरूमा अध्यागमन विभागका अध्यागमन अधिकृत नरवीर खड्का, नेपाल एयरलाइन्सका कर्मचारी अरविन यादव र होम पोखरेल रहेको पनि रहेका छन ।

यसैगरी ट्राभल एजेन्सीका सञ्चालकहरूमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एसकेआइ टुुर्स एण्ड ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रोलेक्स ट्राभल्सका सञ्चालक देवराज खनाल, एडभान्स म्यानेजमेण्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे, रोलेक्स ट्राभल्सका कर्मचारीहरु सञ्जय तामाङ र राजकिशोर साह, एसकेआइ टुर्स एण्ड ट्राभल्सका कर्मचारी रविन अर्याललाई पनि पक्राउ गरिएको रेग्मीले बताउनुभयो ।

 

 

 

यसैगरी स्याङजा चापाकोट नगरपालिका १० घरभई हाल काठमाण्डौं सामाखुसी बस्ने रामप्रसाद भण्डारी र सिराहा मिर्चैया नगरपालिका १२ घरभई हाल काठमाण्डौं जोरपाटी बस्ने सरोजकुमार यादवलाई पनि पक्राउ गरिएको छ ।
अनुसन्धानका क्रममा कागजात मिलाएबापत ट्राभल्सहरूले प्रतिव्यक्ति १५ हजार रुपैयाँ लिने गरेका र अध्यागमन विभागका कर्मचारीले नयाँको हकमा ५५ हजार र पुरानो (एकपटक विदेश पुगेर फर्किएका)हरूको हकमा भने ४० हजार रुपैयाँ लिने गरेको खुलेको रेग्मीले बताउनुभयो ।
उनीहरुलाई लिखत सम्बन्धी कसुर समेतका अपराधमा आवश्यक कारवाहीका विभिन्न स्थानमा पठाएको छ ।