मध्यपुर थिमिका सबै वडामा शिशु स्याहार केन्द्र खोल्ने

भक्तपुर, मंसिर २८
मध्यपुर थिमि नगरपालिकाले नगरका सबै वडामा शिशु स्याहार केन्द्र खोल्ने भएको छ । मध्यपुर थिमिको हालै बसेको नगर कार्यपालिका बैठकले नगरपालिकाको समूदाय संस्थासँगको साझेदारीमा सञ्चालन हुने प्रारम्भिक बालविकास केन्दरु शिशु स्याहार केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० लाई स्विकृत गर्ने निर्णय गर्दै नगरका १ देखी ९ नम्वर वडासम्म शिशु स्याहार केन्द्र खोल्न लागेको हो ।
नगर सभाले पारित गरेको ‘नगर बासीलाई शिक्षाको सहज पहुँच सुनिश्चित गर्ने’ नीतिलाई कार्यान्वयन गर्न वडा स्तरमा शिशु स्याहार केन्द्र र प्रारम्भिक बाल विकास केन्द्र खोल्न लागेको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
नीजि स्तरमा सञ्चालित शिशु स्याहार केन्द्रमा महँगो शुल्क लिने गरेको र न्यून आय भएका अभिभावकहरुको समस्यालाई ध्यानमा राखी नगरपालिकाले सबै वडामा शिशु स्याहार केन्द्र खोल्ने तयारी गरेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
आर्थिक रुपमा सबैको पहुँच हुने गरी शिशु स्याहार केन्द्र तथा बाल विकास केन्द्र खोल्न लागेका नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले बताउनुभयो । उहाँले सामुदायिक विद्यालयको पढाईको गुणस्तर अभिबृद्धि गर्न प्रारम्भिक बालबिकास केन्द्रमा एक तह थपगर्न तथा विद्यालयको अतिरिक्त कृयाकलापको लागि शिक्षक दरबन्दीको ब्यवस्था समेत गरिएको जानकारी दिनुभयो ।
सामुदायिक विद्यालयको बिषय शिक्षकको ब्यवस्थापनको लागि अनुदानको ब्यवस्था गरिएको जानकारी दिँदै उहाँले यो निर्णय मध्यपुर थिमिको शिक्षाको विकासका लागि एक पाइला भएको बताउनुभयो ।