उपत्यकाको सुरक्षाका लागि नागरिक र प्रहरीको हातेमालो आवश्यक–एआईजी थापा

भक्तपुर, मंसिर २८

काठमाण्डौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक दिपक थापाले नागरिक र प्रहरीको हातेमालोमा उपत्यकामा शान्ति सुव्यवस्था कायम गर्ने अभियानमा प्रहरी अगाडि बढेको बताउनुभएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८, डोलेश्वरस्थित नवनिर्मित प्रहरी चौकी भवन बिहिवार उद्घाटन गर्दै एआईजी थापाले उपत्यकामा अपराधलाई न्यूनीकरणका लागि नागरिकसँगको हातेमालोमा विभिन्न रणनीति तयार गरी कार्य भइरहेको बताउनुभयो ।
उहाँले ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्धता’ अभियान अन्तर्गत नागरिक मैत्री प्रहरीको सिद्धान्तमा आधारित भएर प्रहरीले काम गरिरहेको बताउनुभयो । भवन लगायतको साधनस्रोत उपलब्ध भएमा प्रहरीको मनोबल बढ्ने र प्रहरीले दिने सेवा र कामको प्रभावकारिता पनि बढ्ने विश्वास गर्दै उहाँले प्रहरीले पनि नागरिक मैत्री वातावरण सिर्जना गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।


उहाँले नागरिकहरु विना बर्दीका प्रहरी भएको बताउँदैं नागरिकले पनि अपराध नियन्त्रणका लागि प्रहरीलाई सूचनाहरु उपलब्ध गराउन र सहकार्य गर्न आग्रह गर्नुभयो । “जति प्रहरी बिट स्थापना गरेपनि, जति प्रहरी तैनाथ गरेपनि प्रहरीले कानून कार्यान्यन गर्छ । उसले हतियार बोकेको छ भने पड्काउने काम गर्छ । नागरिकले त बाँकी समाउने, अठ्याउने र सघाउने हो,” उहाँले भन्नुभयो ।
प्रहरीले निन्द्रामा होइन तन्द्रामा रहेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । थापाले आवेग र उत्तेजनालाई नियन्त्रण गरी विवेकपूर्ण निर्णयबाट कानूनसम्मत तवरले प्रहरी कारवाही गर्न निर्देशन समेत दिनुभयो । साथै धार्मिक तथा पर्यटकिय स्थल डोलेश्वरमा प्रहरी चौकीको निर्माणले प्रहरी कार्यमा थप सहज हुने विश्वास व्यक्त गर्नुभयो ।


बागमति प्रदेश सभा सदस्य किरण थापाले भवन निर्माणमा भएका गतिविधिको चर्चा गर्दै भवन परिसरमा निर्माण गर्न बाँकी कार्यको लागि स्थानीय तहले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले प्रहरी चौकी निर्माणसँगै डोलेश्वर क्षेत्रमा अपराध न्यूनीकरण हुने अपेक्षा गर्दै प्रहरीको काम कारवाहीमा स्थानीयले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले घ्याम्पे डाँडा क्षेत्रको भौगोलिक अवस्थाको फाइदा उठाउँदैं चोरीका मोटरसाइकल र लागु औषधको कारोवारीको गतिविधि बढेको जनगुनासो बढेको बताउँदैं त्यस्ता गतिविधि नियन्त्रणका लागि त्यस क्षेत्रमा पनि सुविधासम्पन्न प्रहरी युनिट स्थापना गर्न सुझाव दिनुभयो ।


प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सुविधा सम्पन्न भवन निर्माणसँगै सेवाको प्रभावकारिता पनि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रहरीको सेवाको प्रभावकारिता बढाउन नागरिकको पनि सहयोगको खाँचो रहने बताउनुभयो ।
उहाँले कुनै पनि कार्यालयले दिने सेवाको प्रभावकारितामा सेवालाई तल्लो तहसम्म बिस्तार गर्ने र सेवा लिने नागरिकमा भर पर्ने बताउँदैं स्थानीय स्तरमा बिस्तारित प्रहरीको सेवाबाट बढी भन्दा बढी लाभ लिन स्थानीयलाई अनुरोध गर्नुभयो ।
सूर्यविनायक नगरपालिका वडा नं. ८ का अध्यक्ष पुष्पराज बस्नेत प्रहरी चौकी भवन निर्माणसँगै डोलेश्वर क्षेत्रमा शान्ति सुरक्षाको व्यवस्था थप मजबुद भई अपराध न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


साढे दुई तल्ले उक्त भवन १ करोड १२ लाख ५६ हजारमा तयार भएको हो । भवनमा कार्यालय, व्यारेक, थुनुवा कक्ष, मेसलगायतको सूविधा रहेको छ । सञ्चारसहित १५ जनाको दरवन्दी रहेको उक्त प्रहरी चौकीमा हाल प्रहरी सहायक निरिक्षकको कमाण्डमा ८ जनाले सेवा प्रदान गर्नेछ । सो अवसरमा भवन निर्माण सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।


कार्यक्रममा काठमाण्डौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरिक्षक लालमणी आचार्य, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक बेद बिष्ट, प्रहरी नायव उपरिक्षक बसन्त पाठक, प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायव उपरिक्षक दिप्ती कार्की, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति, नेपाली सेनाका पदाधिकारी, सशस्त्र प्रहरी बलका पदाधिकारी, पूर्व प्रहरी उपरीक्षक ध्रुबरत्न हाडा, स्थानीय जनप्रतिनिधिहरु, पूर्व प्रहरी कर्मचारीहरु, पत्रकार र स्थानीय भद्रभलाद्मीहरुको उपस्थिती रहेको थियो ।