चाँगुनारायण नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन, आइतबारदेखि नयाँ भवनबाटै कार्यसम्पादन सहित सेवा सुरु हुने

भक्तपुर, मंसिर २९
चाँगुनारायण नगरपालिकाको नवनिर्मित प्रशासकिय भवनको शुक्रवार भव्य कार्यक्रमबीच उद्घाटन गरिएको छ । नगरप्रमुख जीवन खत्रीले भव्य कार्यक्रमबीच उक्त भवनको उद्घाटन गर्नुभएको हो । यससँगै नगरपालिकाले आइतबारदेखि नयाँ भवनबाटै कार्यसम्पादन सहित सेवा सुरु गर्ने जनाएको छ ।
चाँगुनारायण नगरपालिका वडा नं. ५, छालिङको घुमाउनेमा निर्माण गरिएको उक्त भवनको कुल लागत ईष्टिमेट ५५ करोड ७२ लाख ७४ हजार रहेकोमा निर्माण व्यवसायीले ३२ करोड ७३ लाखमा ७७ हजार ८१९ रुपैंयामा भवन तयार गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीले जानकारी दिनुभयो ।


उहाँका अनुसार भवन निर्माणका लागि जिल्ला समन्वय समिति भक्तपुरका ३ करोड, प्रदेश सरकारबाट ६० लाख र स्थानीय पूर्वाधार विकास कार्यालयबाट २ करोड प्राप्त भएको थियो भने बाँकी नगरपालिकाको स्रोतबाट व्यवस्था गरिएको थियो ।
२१ रोपनी ३ आना क्षेत्रफलमा फैलिएको जग्गामा सानाठूला गरी ६ वटा भवनहरू निर्माण गरिएको छ । मुख्य भवन भने साढे तीन तल्लाको रहेको छ । स–साना भवनहरू क्यान्टिन, आपतकालिन केन्द्र, नगर प्रहरी क्वाटर र अर्को एक भवन कार्यालयकै प्रयोजनका लागि प्रयोग हुने पन्थीले बताउनुभयो । निर्माण व्यवसायीसँग २०७७ कार्तिक २६ गते सम्झौता भएर सोही वर्षको फागुन ७ गते उक्त भवनको शिलान्यास भएको थियो ।


भवनको उद्घाटन गर्दै नगरप्रमुख जीवन खत्रीले भाडाको साँघुरो भवनबाट सेवा प्रवाह गर्नुपर्दा जनताको अपेक्षा अनुसार छिटो छरिटो सेवा दिन नसकिरहेको अवस्थामा नगरपालिकाको आफ्नै सुविधासम्पन्न भवनबाट सरल र सहज तरिकाले गुणस्तरीय सेवा प्रवाह हुने विश्वास दिलाउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले स्थानीय सरकारको गुणस्तरीय प्रभावकारी सेवा प्रवाहले नागरिकको सन्तुष्टि उजागर हुने बताउँदैं नयाँ भवनबाट हुने सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गर्नुभयो । उहाँले दलगत र फरक राजनैतिक विचारकै कारण स्थानीय सरकारबाट हुने सेवा प्रवाहमा विभेद गरिएको भन्ने जनगुनासो आइरहेको बताउँदैं स्थानीय तहका जनप्रतिनिधिहरु जुनसुकै दलको तर्फबाट उम्मेदवार भई निर्वाचित भए पनि निर्वाचित भइसकेपछि सबैको साझा र जनताको प्रतिनिधि हुने भएकाले जनप्रतिनिधिहरुले सबै नागरिकलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो ।


वडा नं. ५ का वडाअध्यक्ष जयन्द्र खड्काले खरीपाटीमा बनेको नगरपालिकाको भवन सबैलाई पायक पर्ने स्थानमा रहेको र नगरवासीलाई सेवा लिन सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख रमेश बुढाथोकी, नगर प्रवक्ता एवम् वडा नं. ८ का वडाअध्यक्ष जनक खत्रीलगायतले भवनको उद्घाटनमा देखिएको उल्लासपूर्ण जनसहभागिताको उच्च सम्मान व्यक्त गर्दै जनताको भावना अनुसार नयाँ भवनबाट सेवा प्रवाह हुने विश्वास दिलाउनुभयो ।


सो अवसरमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८० का विजेता खेलाडी विद्यार्थीहरुलाई पुरस्कृत गर्नुका साथै प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने विद्यालयलाई पनि पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा नगरका विभिन्न विद्यालय, खलः, पुचः, सामाजिक संघसंस्था, सहकारीका प्रतिनिधिहरु साँस्कृतिक साँझीसहित सहभागी भएका थिए । सो अवसरमा विभिन्न विद्यालयका विद्यार्थीहरु, धिमे खलः र बाँसुरी खलःहरुले नृत्य तथा साँस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।