चाँगुनारायण नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० शुरु

भक्तपुर, मंसिर २६
चाँगुनारायण नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० मंगलवारदेखी शुरु भएको छ । चाँगुनारायण नगरपालिकाद्धारा आयोजित उक्त प्रतियोगिताका विभिन्न खेलहरु नगरका पाँच स्थानमा सञ्चालन भइरहेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख जीवन खत्रीले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताउनुभयो । उहाँले सहभागी विद्यार्थीहरुलाई पठकपाठनसँगै खेलकुदमा पनि लाग्न आग्रह गर्दै खेलको माध्यमबाट आफुसँगै नगरपालिका, जिल्ला, प्रदेशहुँदैं अन्तराष्ट्रियस्तरमा देशको नाम परिचित गराउनु पर्नेमा जोड दिनुभयो ।


उहाँले नगरपालिका योग्य नागरिक उत्पादन गर्ने उद्देश्यले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढेको बताउँदैं विश्वस्तरमा प्रतिष्पर्धा गर्न सक्ने सक्षम र सवल विद्यार्थी उत्पादन गर्ने नगरपालिकाको लक्ष्य र उद्देश्य रहेको उल्लेख गर्नुभयो ।
उहाँले विद्यार्थीहरुको भविष्य निर्माणमा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताउँदैं प्रतियोगिताले नगरभित्र रहेको प्रतिभाको पहिचान हुने र त्यसले राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा नगरपालिकाको पहिचान र शान बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाले भविष्यमा बैकुण्ठ मानन्धर र जितबहादुर केसी जस्ता खेलाडी उत्पादन विद्यालयस्तरिय खेल प्रतियोगिताबाटै जन्मिने चर्चा गर्दै खेलाडीहरुले अनुशासित भएर खेल भावना र नियमअनुसार खेल्नुपर्नेमा जोड दिनुभयो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले जिल्लाका चारवटै पालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुनु सुखद पक्ष रहेको बताउँदैं खेल क्षेत्रको विकासका लागि भौतिक पुर्वाधारको पनि बिस्तार हुनुपर्नेमा जोड दिनुभयो ।


नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीले खेलसँगै अनुशासनपनि जोडिएर आउने बताउँदैं विद्यार्थीहरुले अनुशासित भएर खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
नगर शिक्षा शाखा प्रमुख विरबहादुर खड्काले शिक्षासँग सँगै विद्यार्थीको समग्र विकासका लागि खेलकुद पनि अपरिहार्य भएकोले नगरपालिकाले राष्ट्रपति रनिङ शिल्डलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
नगरस्तरिय खेलकुद विकास समितिका संयोजक रघु केसीको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा श्रीकृष्ण मावि र महेन्द्र ग्राम माविका विद्यार्थीहरुले नृत्य प्रस्तुत गर्नुका साथै नगरप्रमुख खत्रीले मार्सल आर्ट खेलका निर्णायक मण्डललाई खेल सामग्री हस्तान्तरण गर्नुभएको थियो ।


तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीले पालिकाको प्रतिनिधित्व गर्दै जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराईने नगर प्रवक्ता एवम् वडा नं. ८ का वडाअध्यक्ष जनक खत्रीले बताउनुभयो ।
प्रतियोगितामा छात्र र छात्राको भलिबल, कबड्डी, मार्सल आर्टतर्फ कराँते, तेक्वान्दो, उसु, एथलेटिक्सतर्फ हाइजम्प, लङजम्प, ८०० मिटर, सटफुट, १०० मिटर रिले, त्रिपलजम्प, ज्याभ्लिङ थ्रो, ३००० मिटर, १५०० मिटर, ४०० मिटर, २०० मिटर, १०० मिटर ४०० मिटर रिले समावेश गरिएको छ ।


प्रतियोगितामा नगरपालिकाभित्रका करिव ४० सामूदायिक र संस्थागत विद्यालयका करिव एक हजार छात्रछात्राको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबलका खेलहरु फैढोका आधारभुत विद्यालय, तेक्वान्दो र कराँते नगरपालिकाको सभाहल तपादम्फो, उसु फुल ब्राईट ईङ्गलिस स्कुल, कबड्डी भद्रकाली कवर्डहल र एथलेटिक्सका खेल नेक कलेज दुवाकोटमा सञ्चालन हुनेछ ।