भक्तपुर नगरपालिका र चीनको लशान नगरपालिकाबीच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापना

भक्तपुर, मंसिर २६
भक्तपुर नगरपालिका र चीनको स्—छुवान प्रान्तको लशान नगरपालिकाबीच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापित भएको छ । लशान नगरपालिका उपप्रमुख लेइ चियनसिनको नेपाल भ्रमणको अवसरमा मंगलवार भक्तपुर नगरपालिका र लशान नगरपालिकाबीच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापनाको समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
समझदारी पत्रमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र लशान नगरपालिका जनसरकारका प्रमुखको अनुमतिमा उपप्रमुख लेइ चियनसिनले हस्ताक्षर गर्नुभएको हो ।
भक्तपुर नगरपालिका र लशान नगरपालिकाबीच भएको फलदायी छलफलपछि यी दुई नगरपालिकाहरूबीच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापना गरी भविष्यमा दुई नगरपालिकाहरुबीच पारस्परिक सम्बन्ध विकास र विस्तारका कार्यहरुलाई अगाडि बढाउने उद्देश्यका साथ उक्त समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
समानता र पारस्परिक लाभका आधारमा दुई नगरपालिकाले अर्थतन्त्र, व्यापार, संस्कृति, शिक्षा, पर्यटन, स्वास्थ्य, हस्तकला, खेलकुदलगायतका क्षेत्रमा विभिन्न प्रकारका सहकार्य एवम् आदानप्रदान गरिने र आदानप्रदानको प्रगतिको आधारमा दुवै नगरपालिकाले उपयुक्त समयमा अन्तर्राष्ट्रिय भगिनी शहर सम्बन्धको स्थापनालाई अगाडि बढाउने सहमति भएको भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिले बताउनुभयो ।
त्यस्तै लशान नगरपालिकाका उपप्रमुख लेइ चियनसिनले दुई नगरबीचको मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापनाबाट हुने आर्थिक, पर्यटन तथा सांस्कृतिक आदानप्रदानले दुवैको सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
लशान सिचुवान प्रान्तकै विकासको सम्भावना बोकेको नगरपालिकाको रुपमा विकास भइरहेको अवगत गराउँदै उपप्रमुख चियनसिनले मैत्रीपूर्ण सम्बन्ध स्थापनाबाट दुई नगरबीच हुने कृषि, सम्पदा संरक्षण, सांस्कृतिक पर्यटन आदानप्रदानले दुवै नगरको आर्थिक विकासमा समेत टेवा पुग्ने बताउनुभयो ।
भक्तपुर अवलोकनको क्रममा यहाँका जनताको लागि शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी कलेज र अस्पताल सञ्चालनबाट आफूहरु निकै प्रभावित भएको बताउँदै भक्तपुरको सम्पदा पुनःनिर्माण कार्य निकै स्वागतयोग्य भएको बताउनुभयो ।
समझदारी पत्र हस्ताक्षर समारोहमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु, शाखा प्रमुखहरु, नपाबाट सञ्चालित कलेजका प्रमुखहरु तथा नगरका विशिष्ट व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।
सोही समारोहमा चिनियाँ कम्युनिष्ट पार्टी लशान नगर समितिका शैक्षिक कार्य समिति सहसचिव लिउ यउज्युन, चिनियाँ कम्युनिष्ट पार्टी लशान नगर समितिको संस्कृति, रेडियो र पर्यटन ब्युरोका योजना प्रमुख लिऊ सियाओफाङ, चिकपा लशान नगर स्वास्थ्य आयोगका उपनिर्देशक यायान, चिकपा लशान नगर समितिको आर्थिक सहकार्य तथा परराष्ट्र मामिला ब्युरोका उपनिर्देशक यु लिवन, चिकपा लशान नगर समितिका सदस्य एवम् लशान विशाल बुद्ध अवलोकन क्षेत्रका प्रमुख तथा लशान विशाल बुद्ध अवलोकन क्षेत्र अनुसन्धान संस्थानका अध्यक्ष फान युआनयुआनलगायतको उपस्थिति रहेको थियो ।