प्रहरीले झम्सिखेलमा गोली प्रहार गरी एक जनालाई नियन्त्रणमा लिए

भक्तपुर, मंसिर २६
ललितपुर महानगरपालिका–३, झम्सीखेलमा प्रहरीले गोली हानी आज (मंगलवार)एक जनालाई नियन्त्रणमा लिएको छ । लागु औषधको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष अनुसन्धान प्रहरी टोलीले उदयपुर, लेखानी गाउँपालिका ९ स्थायी घर भएका ४० वर्षिय अविनाश राईलाई गोली हानी नियन्त्रणमा लिएको हो ।


राईको दाहिने गोडामा गोली लागेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सूचना अधिकारी प्रहरी उपरिक्षक (एसपी) रविन्द्र रेग्मीले बताउनुभयो । अनुसन्धानका लागि झम्सिखेल पुगेको प्रहरी टोलीमाथि लक्षित गरी पेस्तोल ताकेर फायर गर्न खोजेपछि प्रहरीले जवाफी फायर गरेको रेग्मीले जानकारी दिनुभयो ।


घाईते राईलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौंमा लगिएको छ । राईको साथबाट १ थान कटुवा पेस्तोल, सो पेस्तोलको गोली २ राउण्ड, लागू औषध एमफेटामिन (एटिएस) जस्तो देखिने पदार्थ ४८५ ग्राम, भिभो मोवाईल १ थान, नेपाली ६० हजार रुपैंया, भारतीय रुपैंया ११ हजार बरामद भएको एसपी रेग्मीले बताउनुभयो ।