‘सय वर्षपछिको भक्तपुर’ र ‘५० वर्षपछिको नेपाल’को आधारमा नगरपालिका सञ्चालन–नगरप्रमुख प्रजापति

भक्तपुर, मंसिर २६
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दुई दशक अघि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले लेख्नुभएको ‘सय वर्षपछिको भक्तपुर’ र ‘५० वर्षपछिको नेपाल’ पुस्तकलाई आधार बनाई काम गर्दै आएको बताउनुभएको छ ।
भक्तपुरको स्थलगत अवलोकन भ्रमणका लागि आउनुभएका धनुषा जिल्लाको दुई वटा स्थानीय तहका प्रमुख, उपप्रमुखसहितको टोलीलाई सोमवार स्वागत गर्दै उहाँले सो बताउनुभएको हो ।
उहाँले नगरको परिचय र विशेषताबारे प्रकाश पार्दै शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाईजस्ता जनताका आधारभूत विषयहरूलाई नगरपालिकाले जोड दिँदै आएको बताउनुभयो ।
उहाँले नेमकिपाको घोषणापत्रलाई आधार बनाई संविधानले कल्पना गरेको समाजवादउन्मुख कार्य गर्दै आएको बताउँदै स्वास्थ्य क्षेत्रअन्तर्गत घरदैलो नर्सिङ सेवा, वडा वडामा स्वास्थ्य केन्द्र स्थापना, नगरपालिकाको १०० शैय्याको ख्वप अस्पताल सञ्चालन गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशका विभिन्न नगरपालिकाका जनप्रतिनिधिहरू भक्तपुरका शैक्षिक संस्थाहरू अवलोकन गर्न आउने र आ–आफ्ना पालिकामा पनि ख्वप कलेज जस्तै शैक्षिक संस्थाहरू खोल्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ ।”
सो अवसरमा धनुषाको शहिदनगर नगरपालिकाका उपप्रमुख सुनिताकुमारी सिंहले भ्रमणको उद्देश्यमाथि प्रकाश पार्दै भक्तपुर नपाले शिक्षामा गरिरहेको सकारात्मक अभ्यासको अनुसरण गरिने बताउनुभयो ।
उहाँले भक्तपुरको शैक्षिक विकासबाट आफूहरू प्रभावित भएको बताउँदै विभिन्न स्थानीय तहहरूबीचको अनुभव आदानप्रदानले जनप्रतिनिधिहरूमा उत्साह मिल्ने बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले अध्ययन भ्रमण फलदायी हुने आशा व्यक्त गर्दै भक्तपुरको भ्रमणको अनुभवलाई आफ्नो कार्य क्षेत्रमा कार्यान्वयन गरी त्यहाँको शैक्षिक स्तर उकास्न विभिन्न कार्यहरू हुने विश्वास व्यक्त गर्नुभयो ।
नगर शिक्षा शाखाका प्रमुख साधुराम फुयालले भक्तपुर नगरपालिका भित्र सामुदायिक र संस्थागत गरी जम्मा ९२ वटा विद्यालयहरू रहेकोमा भक्तपुर नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक गुणस्तरमा रहेको अन्तरलाई कम गर्दै लैजाने प्रयास गरिरहेको बताउनुभयो ।
प्रतिनिधिमण्डलमा जनकनन्दिनी गाउँपालिका अध्यक्ष दिपिनदेव यादव र उपाध्यक्ष कमला सहगल, श्री जनता नमुना मावि कुम्भकरण, श्री प्रगतिशील मावि, आसमान नेपाल संस्थाका प्रतिनिधि, प्रधानाध्यापक, शिक्षा शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।