अन्तर विद्यालय तेक्वान्दोमा मदरल्याण्ड च्याम्पियन

भक्तपुर, मंसिर २५
नवौं अन्तर विद्यालय तेक्वान्दो (आइटिएफ) च्याम्पियनसीप सूर्यविनायक नगरपालिका–९ मा रहेको मदरल्याण्ड स्कुलले च्याम्पियन बनेको छ । तेक्वान्दो आईटीएफ नेपाल र क्वालिटी इङ्लिस बोर्डिङ स्कुलले शनिवार आयोजित उक्त च्याम्पियनसीपमा मदरल्याण्ड ८ स्वर्ण, ४ रजत र ८ कास्यसहित टिम च्याम्पियन बनेको हो ।
च्याम्पियनसीपमा आरक्षण स्कूल भक्तपुर ५ स्वर्ण, ८ रजत र ५ कास्यसहित दोस्रो तथा सुनाखरी पाठशाला काठमाण्डौंले ५ स्वर्ण, ३ रजत र ८ कास्यसहित तेस्रो भए । च्याम्पियनसीपमा छात्रतर्फ न्यु मोडेल एकेडेमी, काभ्रेका अब्राहम टोलाङ्गे र छात्रातर्फ सुनाखरी पाठशाला काठमाण्डौका रेजिना तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।
एक दिने च्याम्पियनसीपमा २१ व्यक्तिगत स्प्यारिङ र १२ व्यक्तिगत प्याट्रेन क्याटोगोरीमा १३ विभिन्न विद्यालयहरूका २०६ खेलाडी र अधिकारीहरू सहभागी थिए ।
च्याम्पियनसीपमा विजयी खेलाडी तथा टिमलाई नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक रमेश खरेल, शनिस लागेजु राष्ट्रिय तेक्वान्दो संघका सचिव तथा हंसदा योग आश्रमका अध्यक्ष स्वामी नीलकण्ठ र अध्यक्ष स्वामी पञ्चशीलले पदक तथा ट्रफी वितरण गरेका थिए ।
सो अवसरमा आइटिएफ नेपालका अध्यक्ष लक्ष्मण बस्नेतले हरेक वर्ष गर्दै आएको च्याम्पियनसीप कोभिड–१९ को कारण २ वर्ष रोकिएको भए पनि यसलाई पुनः निरन्तरता दिएको बताउनुभयो !