माझखण्ड सतकुलपुत्त पब्बज्जा – २०७९ (संस्मरण तेश्राे दिन – ३) भाग २

अन्तर्राष्ट्रिय बाैद्ध दिवस

सुनिता तुलाधर शिल्पकार, ललितपुर ।

सोहि दिन नै माझखण्डमा भइरहेको श्रामणेर प्रव्रज्याका लागि सहयोग गर्न केहि उपयोगी सामाग्रीहरु दान दिने ईच्छाले काठमाडौंबाट शाक्य रत्न एवं परिवारजन आउनु भएको थियो ।
उहाँहरुले ञाणवती गुरुमाको कक्षापछि धम्महलमा बोधिज्ञान भन्ते लगायत अरु भन्तेहरुका साथै नव प्रव्रजित श्रामणेरहरुलाई विभिन्न सामाग्रीहरु दान दिनुभएको थियो । यसका साथै सबै भन्ते गुरुमा लगायत श्रामणेरहरुलाई भोजन दान पनि दिनुभएको थियो ।
दिउँसोको कक्षामा निस्रयाचार्य गुरु भन्ते बोधिज्ञान महास्थविरको निर्देशनमा विहारमा रहनुभएका सबैजना चंक्रमण गर्दै सल्लेडाँडातिर लागेका थिए । बोधिज्ञान भन्तेको निर्देशनानुसार श्रामणेरहरु पटक्कै गाह्रो नमानि खुरु खुरु खाली खुट्टा लिएर, पछाडि एकपटक पनि नफर्कि विहारको पश्चिमतिर अलि टाढा रहेको सल्लेडाँडा गएका थिए ।
सो दिन अन्तर्राष्ट्रिय बौद्ध दिवस पनि परेकाले त्यहाँ पुगेपछि चतुआरक्खा भावना पाठ गरियो तथा दिवस मनाउन भन्तेले त्यहाँ जंगल ध्यान पनि बसाउनु भएको थियो ।

थाइलाण्ड, भियतनाम, भारत आदि देशहरुबाट आउनु भएका भन्तेहरु, अनागरिका गुरुमाहरु, शाक्य रत्न र उहाँका परिवार, माझखण्ड बुद्ध विहारमा रहुनभएका श्रद्धालु उपासकउपासिकाहरुसँग नवश्रामणेर धम्मदायादहरु सल्लेडाँडासम्म चंक्रमण ध्यान भावना गर्दै जंगलको रुख मुनि ध्यान गरेका थिए । तत्क्षणमा कसैको पनि मनमा कुनै प्रकारको क्लेश रुपि मार थिएन, बस सबैजनाले कुशलतापूर्वक भाविता गर्दै थिए, आफ्नो चित्तलाई परिशुद्ध गर्दै थिए । केहि समय रुखमुनि ध्यान गरिसकेपछि बोधिज्ञान भन्तेकै निर्देशनमा उनीहरु पुनः एकचोटि चंक्रमण ध्यान भावना गर्दै सल्लेडाँडाबाट माझखण्ड बुद्ध विहार फर्केका थिए ।
त्यसैदिन अन्तर्राष्टिय बौद्ध दिवसको उपलक्ष्यमा विश्व शान्ति बिहार र माझखण्ड बुद्ध बिहारको संयुक्त आयोजनामा धम्मचक्कपवत्तनसुत्त पाठ र दीप प्रज्वलनको कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रमको तयारीमा माझखण्ड बुद्ध विहारमा उपस्थित हुनु भएका नेपाली, थाई, भियतनामी, भारतीय भिक्षुहरु, अनागरिकाहरु, नवश्रामणेरहरु र श्रद्धालु उपासकउपासिकाहरु सबैजना जुटिरहनु भएको थियो ।
समयको चालसंगै माझखण्ड बुद्ध विहारको चारैतिर अध्याँरो हुन थालिसकेको थियो । सबै भिक्षुहरु, अनागरिकाहरु, नवश्रामणेरहरु र श्रद्धालु उपासकउपासिकाहरु विहारको कौसीमा जम्मा भई आ–आफूलाई छुट्याइएको स्थानमा व्यवस्थित रुपमा बस्नुभयो । कौसीको ठूलो स्तुपा अगाडि सबैजनाले एउटा एउटा दीप प्रज्वलन गरेका थिए । जुन दृश्य अत्यन्तै मनमोहक थियो ।
जुन दृश्य कैद गर्न मिडियाकर्मीहरु व्यस्त देखिन्थे । कोहि तस्वीर क्यामरामा कैद गर्दै थिए भने कोहि मोबाइलमा । कोहि यसको भिडियो खिचिरहेका थिए । त्यस्तै ड्रोनबाट पनि यसको भिडियोहरु खिचिएको थियो ।
दीप प्रज्वलनपछि सबैजना मिलि धम्मचक्कपवत्तनसुत्त पाठ गर्नुभएको थियो भने केही समय ध्यान भावना पनि गर्न लगाउनुभएको थियो निस्रयाचार्य बोधिज्ञान भन्तेले । बोधिज्ञान भन्तेले अस्थिधातु हातमा बोक्नुभयो भने उपस्थित बाँकी सबैले हातमा एउटा एउटा बलिरहेको दीप लिनुभई व्यवस्थित रुपमा लामबद्ध भई स्तुपालाई तिनपटक परिक्रमा गरी दीपलाई स्तुपाको चारैतिर व्यवस्थित रुपमा राख्नुभएको थियो ।
परिक्रमाका लागि लाइन मिलाउँदै हुनुहुन्थ्यो धम्मकायबाट आउनुभएका नेपाली भन्ते मनापो (उपेन्द्र) भन्तेले ।

यसरी अल्पकालिन श्रामणेर प्रव्रज्याको तेस्रो दिन श्रामणेरहरुले विभिन्न धार्मिक कुराहरु सिकि चित्तलाई परिशुद्ध गर्दै भोलि फेरी नयाँ कुरा सिक्न आ–आफ्ना स्लीपिङ्ग ब्यागमा सुस्ताएका थिए ।
साधु ! साधु ! !साधु ! ! !
क्रमशः …