नगरस्तरिय गणित प्रदर्शनी प्रतियोगितामा एस ओ एस प्रथम

भक्तपुर, मंसिर ७
मध्यपुर थिमि नगरस्तरिय गणित प्रदर्शनी प्रतियोगितामा एस ओ एस हर्मन माइनर विद्यालय प्रथम भएको छ । मध्यपुर थिमि नगरपालिकाको शिक्षा शाखाले बुधवार आदर्श मावि सानोथिमिमा आयोजित उक्त प्रतियोगितामा सहभागी २२ विद्यालय मध्ये एस ओ एस प्रथम भएको हो ।
प्रतियोगितामा हिमचुली एकेडेमी दोस्रो, मातृभुमी विद्यालय तेस्रो र विनायक शिक्षा निकेतन, नवरत्न एकेडेमी र होली गार्डेन एकेडेमीले सान्त्वना पुरस्कार प्राप्त गरेको नगर शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र भट्टले जानकारी दिनुभयो ।


प्रतियोगितामा नगरभित्र सञ्चालित विभिन्न २२ विद्यालयका विद्यार्थीहरुको समूहले गणितमा आधारित भएर विभिन्न प्रदर्शनी गरेका थिए । प्रतियोगितामा विजयी विद्यालयका विद्यार्थी समूहलाई ट्रफि, प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
सो अवसरमा शिक्षा समितिका संयोजक एवम् वडा नं. २ का वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठले विद्यार्थीहरुमा भएको प्रतिभा प्रस्फुटन गर्न मद्दत गर्न प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । विद्यार्थीहरुलाई कितावी ज्ञानका साथै सैद्धान्तिक अध्ययनलाई व्यवहारमा उतार्न पनि यस्ता प्रतियोगिता र प्रदर्शनीको खाँचो रहेकोले पनि नगरपालिकाले विभिन्न गतिविधि गर्दै आएको जानकारी दिँदैं यसले विद्यार्थीहरुलाई हरेक क्षेत्रमा प्रतिष्पर्धा गर्न सक्ने क्षमता विकास गर्ने विश्वास व्यक्त गर्नुभयो ।