नेपालमा विकास र समृद्धि दुवै सम्भव छ–अर्थमन्त्री डा. महत

भक्तपुर, मंसिर ६
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विकास र समृद्धि दुवै सम्भव भएको बताउनुभएको छ । नेपाल संवतका प्रवर्तक शंखधर साख्वा दिवसको अवसरमा मध्यपुर थिमि नगरपालिकाले बुधवार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. महतले नेपालमा धेरै सम्भावना र अवसर रहेकोले यही विकास र समृद्धि पनि सम्भव भएको बताउनुभएको हो ।
उहाँले आर्थिक रुपान्तरण र परिवर्तन जति हुनुपर्ने हो त्यति हुन नसकेपनि पहिला भन्दा धेरै राम्रो हुँदैं गएको जिकिर गर्दै यसैमा चित्त बुझाएर बस्ने बेला नभएको बताउनुभयो ।


“नेपालमा विकास हुन्छ । नेपालमा समृद्धी सम्भव छ । हाम्रा धेरै सम्भावनाहरु छन । हामी सबै लाग्नुपर्छ, लागि पनि रहेका छौं । जति परिवर्तन गर्नुपर्ने, आर्थिक रुपान्तर गर्नुपर्ने त्यही सकेको छैन होला तर पहिलाको भन्दो धेरै राम्रो भएको छ । यसैमा चित्त बुझाएर बस्ने बेला पनि छैन,” उहाँले भन्नुभयो ।
उहाँले नकारात्मक माहोललाई चिरेर अघि बढ्नुपर्ने खाँचो रहेको बताउँदैं हाइड्रो पावर, पर्यटन क्षेत्र, आईटी क्षेत्रमा देखिएको सम्भावनाले नेपालको आर्थिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।


“हामीले यही देशमा रोजगारी सिर्जना गर्न सक्छौं । आईटी क्षेत्रमा हजारौं युवाले यही देशमा काम पाइरहेको छ । सफ्टवेयर निर्यात गरिरहेका छन । हाईड्रो पावरमा लगानी आइरहेको छ । वल्ड बैंक एडिबी नेपालमा लगानी गर्न तयार छन । पर्यटनको आगमन संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ,” उहाँले भन्नुभयो, “मुलुकको अर्थतन्त्र बिस्तारै सकारात्मक तर्फ गइरहेको छ । नकारात्मक माहोललाई चिरेर अघि बढ्नुपर्छ । देशमै प्रगती सम्भव छ । देशमै रोजगारी सम्भव छ । यो देशको विकास सम्भव छ । अझ धेरै गर्न बाँकी रहेकोले यही देशमा प्रचुर अवसर पनि रहेको छ ।”
उहाँले २०७२ को ठूलो भूकम्प, कोभिड महामारीबाट गुज्रेको अर्थतन्त्र अहिले सुधारोन्मुख दिशामा गइरहेको बताउनुभयो । उहाँले विप्रेषणमा सुधार भई अहिलेसम्मकै उच्च विन्दुमा पुगेको र पर्यटकको आगमन समेत बृद्धि हुने क्रममा रहेकोले अर्थतन्त्र बलियो बन्दै गएको जिकिर गर्नुभयो ।


उहाँले बैंकको ऋण लिएर केही गर्न खोज्दा खोज्दै विविध परिस्थितीका कारण असफल भएर समस्या रहेका व्यवसायीलाई सरकारले उचित नीति ल्याएर सम्बोधन गर्ने तर बैंक ऋणको दुरुपयोग गर्ने जो कोहीलाई छुट नहुने बताउनुभयो ।
“जसले बैंकको ऋणको सही सदुपयोग गरेर मेहनत गर्दा पनि विविध परिस्थितीका कारण प्रतिफल पाउन नसकेको अवस्थामा सरकारले हेर्छ । तर ऋण लिने, खाने, १० ठाउँमा लगानी गर्ने, तर तिर्दिन भन्न चाँही पाईंदैन । तर जो साँच्चै नै गर्दा गर्दै पनि अप्ठ्यारोमा परेको छ, त्यसलाई सरकारले हेर्छ, त्यसबारे गृहकार्य भइरहेको छ । कसरी सम्भव छ, राष्ट्र बैंक मार्फत वा अरु नीति मार्फत के गर्न सकिन्छ, त्यो अवस्य पनि गर्छौ,” उहाँले भन्नुभयो ।


अहिले वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जाने ट्रेन चलेको बताउँदैं उहाँले यसैलाई नकारात्मकरुपमा प्रचार गर्ने, नेपालको शासन सत्ता र यहाँको प्रणाली नै खराब भनेर नकारात्मक वातावरण देशमा बनाएर पलायनलाई प्रोत्साहन गर्ने, त्यही नकारात्मक भावनाबाट फाइदा उठाएर आफ्नो कुत्सित राजनीतिक स्वार्थ पुरा गर्ने योजना सफल हुन नदिने दावी गर्नुभयो ।
अहिले सामाजिक सञ्जालमा नियोजितरुपमा प्रचार गरेर असत्यलाई सत्य बनाउने षडयन्त्र भइरहेको चर्चा गर्दै सत्यको पक्षमा सबै बोल्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “जब सत्यको मुख बन्द हुन्छ, झुठोको थुतुनो चल्छ । जसले सत्य बुझेको छ, थुतुनो चलाउने देखी डराएर यिनीहरुसँग किन मुखमुखै लाग्नु भनेर छेउ लाग्ने वा ढोका थुनेर भित्र बस्यो भने के हुन्छ ? त्यही झुठो बोल्नेहरुको साम्राज्य चल्छ । यही पो ठिक हो की भन्ने भ्रमको सिर्जना हुन्छ । त्यसैले सत्य बोल्न छोड्नु भएन । जब सत्यको मुख चल्न थाल्छ अनि झुठोको थुतुनो बन्द हुन्छ ।”
अहिलेको नयाँ पुस्ताले लोकतन्त्र स्थापनाका लागि भएका हिजोको संघर्ष, त्याग, बलिदानको बारेमा थाहा नभएकाले पनि अहिलेको व्यवस्थाप्रति घृणा फैलाउन चाहने तत्वहरुले फाइदा लिने कोशिष गरिरहेको उहाँले बताउनुभयो ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि मुलुकमा धेरै परिवर्तन भएको जिकिर गर्दै उहाँले अझै धेरै सुधार गर्नुपर्ने धेरै ठाउँ रहेको महशुस भएको बताउनुभयो । तर त्यही कमजोरी देखाएर पुरानै व्यवस्था ठिक भन्नु किमार्थ सत्य हुन नसक्ने पनि बताउनुभयो ।


मध्यपुर थिमिको कला सँस्कृतिको विशिष्ट विशेषता रहेको बताउँदैं उहाँले टोलबस्तीको मौलिक नामाकरणको शुरुवातले यहाँको कलासँस्कृतिलाई पर्यटनसँग जोड्न सकिने र यसैलाई प्रचार प्रसार गरी पर्यटन उद्योगले आर्यआर्जनमा टेवा पुग्न गई यहाँको जीवनस्तर माथि उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर थिमिलाई ‘परम्परागत मौलिक शहर’को रुपमा कसरी विकास गर्ने विषयमा धेरै योजना अघि बढाएको बताउनुभयो । उहाँले मध्यपुर थिमिको परम्परागत बस्ती क्षेत्रका घरहरु पुनःनिर्माण गर्दा परम्परागत मौलिक शैलीमा निर्माण गर्न प्रोत्साहन गर्ने र पहिले बनेका घरहरुलाई पनि मौलिक शैलीमा रुपान्तरण गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने गृहकार्य भइरहेको बताउनुभयो ।


उहाँले मध्यपुर थिमिको ऐतिहासिक दरवार क्षेत्रलाई विगतमा शैक्षिक संस्थाको रुपमा विकास गरेमा अहिले पुनः ती दरवारलाई दरवारको रुपमा नै विकास गर्ने उद्देश्यले योजना निर्माण भइरहेको र यसै वर्षदेखी काम शुरु हुने बताउनुभयो ।
उहाँले आगामी शैक्षिक सत्रबाट कक्षा ७ र ८ मा स्थानीय पाठ्यक्रम लागु गर्ने तयारी अन्तिम चरणमा पुगेको बताउँदैं यसैवर्ष ३ सय भन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको जानकारी दिनुभयो ।
उहाँले स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन हुने गरी काम भइरहेको बताउनुभयो । स्वास्थ्यमा जनताको पहुँच कसरी सहज र सरल बनाउने भन्ने उद्देश्यले नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा १३ यसवर्ष मात्र १३ करोड लगानी गरेर सिटी स्क्यान र डायलासिस शुरु गरिएको, नेपाल सरकारको सहयोगमा आईसीयू र शल्यक्रिया कक्षको निर्माण शुरु गरिएको, कोरिया सरकारको एक अर्ब २५ करोडको सहयोगमा थप भवन निर्माण गरी २२८ बेडको अस्पताल सञ्चालनको दिशामा अघि बढेको र पाँच वर्षभित्र सबै नगरवासीलाई स्वास्थ्य बिमाको दायरामा ल्याएर निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने योजनाका साथ काम भइरहेको बताउनुभयो ।


उहाँले मध्यपुर थिमिमा शंखधर साख्वाको राष्ट्रिय संग्रहालय निर्माण गर्न नगरपालिकाले पहल गरिरहेको र यसमा सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय विभुती शंखधर साख्वा प्रतिष्ठानका संस्थापक अध्यक्ष एवम् मध्यपुर थिमि नगरपालिकाका पुर्व नगरप्रमुख मदनकृष्ण श्रेष्ठ, नेपाली कांग्रेस मध्यपुर थिमि नगरसमितिका सभापति हरिदास प्रजापति, इमेज च्यानल टिभिका प्रबन्धक आरके मानन्धर, राष्ट्रिय विभुती शंखधर साख्वा प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, प्रवक्ता एवम् वडा नं. ३ का वडाअध्यक्ष कृष्णहरी आचार्यलगायतले शंखधर साख्वाको योगदानको चर्चा गर्नुभएको थियो ।
सोही अवसरमा शंखधर चोकमा अवस्थित शंखधर साख्वको प्रतिमामा माल्यापर्ण गर्नुका साथै साँझ दिपावली पन गरिएको थियो । अर्थमन्त्री महतले सो अवसरमाराष्ट्रिय विभुती शंखधर साख्वा प्रतिष्ठानको अवलोकन समेत गर्नुभएको थियो ।