उद्योग विभागद्धारा ‘इको प्यानल’ शब्द प्रयोग नगर्न इको प्यानल नेपाल प्रा.लिका नाममा अन्तरकालीन आदेश जारी

भक्तपुर, मंसिर ८
उद्योग विभागले इको प्यानल नेपाल प्रा.लि.लाई इको प्यानल शब्द प्रयोग नगर्न नगराउन अन्तरकालीन आदेश जारी गरेको छ । गोर्खा इको प्यानल र इको प्यानल नाममा प्रिफाइव प्यानल उत्पादन गर्दै आइरहेको इन्टरनेशनल ग्रीन डेभलपर्स प्रा.लि.ले दिएको उजुरीको आधारमा उद्योग विभागले इको प्यानल नेपाल प्रा.लिका नाममा गत कार्तिक २० गते सो आदेश दिएको हो ।
विभागमा महानिर्देशक बाबुराम गौतमद्धारा जारी आदेशमा भनिएको छ, ‘पेटेण्ट, डिजाईन, तथा ट्रेडमार्क ऐन, २०२२ को दफा १६ को उपदफा (२) र दफा १८ को उपदफा (१) प्रतिबन्धात्मक वाक्यांश विपरीत भएको साथै विपक्षीको सो कार्यबाट उपभोक्ता झुक्किने अवस्था रहने तथा उजुरीकर्ताको ट्रेडमार्कको ख्यातिमा असर पर्न जाने देखिएकोले विपक्षीको लिखित जवाफ परेपछि पुनः विचार हुने नै हुँदा हाललाई इको प्यानल शब्द प्रयोग नगर्नु नगराउनु भनी मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ बमोजिम विपक्षीका नाममा अन्तरकालिन आदेश जारी हुने ठहर्छ ।’
ग्रीन डेभलपर्सले विपक्षी इको प्यानल नेपा प्रा.लि.ले इको प्यानल नामक ट्रेडमार्कको दुरुपयोग गरी आफ्नो उत्पादनसँग मिल्दोजुल्दो हुने गरी प्र.प.सं.०५९३१६ बाट दर्ता भएको इपिएन स्याण्डविच इको प्यानल दर्ता बदर गर्न र उजुरीको अन्तिम किनारा नलागेसम्म इपिएन स्याण्डविच इको प्यानल तथा लोगो विपक्षीले आफ्नो बन्दव्यापारमा उपयोग नगर्नु नगराउन अन्तरकालिन आदेश समेत जारी गरी पाउन माग गर्दै उजुरी दिएको थियो ।
उजुरीकर्ता ग्रीन डेभलपर्सका तर्फबाट अधिवक्ता राजकुमार सुवाल, अधिवक्ता नारायण चौलागाईं र अधिवक्ता आस्था पौडेलले बहश गर्नुभएको थियो ।
ग्रीन डेभलपर्सले २०७७ चैत्र २५ गते प्रमाणपत्र नं. ०५०८०० बाट वर्ग १९ अन्तर्गत इको प्यानल, प्रमाणपत्र नं. ०५१३१३ बाट वर्ग ३५ अन्तर्गत इको प्यानल र प्रमाणपत्र नं. ०५२३१२ बाट वर्ग ३५ अन्तर्गत गोर्खा इको प्यानल नामक ट्रेडमार्क दर्ता भएको आदेशमा उल्लेख छ ।
यसैगरी विभागबाट २०७९ साउन ११ गते उजुरीकर्ता ग्रीन डेभलपर्सका नाममा दर्ता भएको टे«डमार्कसँग मिल्दोजुल्दो हुने गरी इको प्यानल नामक ट्रेडमार्क प्रयोग गरी कुनै पनि विज्ञापनिक कार्य÷प्रचारप्रसार समेत नगर्नु नगराउनु भनी विपक्षीका नाममा अन्तरकालिन आदेश भएको र उक्त आदेश सदर हुने गरी २०७९ पुस २१ गते उच्च अदालत पाटनबाट समेत आदेश भएको देखिएको आदेशमा उल्लेख छ ।
आदेशमा ‘विपक्षीको नाममा अन्तरकालीन आदेश जारी भएको अवस्थामा विपक्षीले दुषित मनसाय राखी उजुरीकर्ताको ट्रेडमार्क प्रयोग गरी प्र.प.सं. ०५९३१६ बाट एपिएन स्याण्डविच इको प्यानल दर्ता गरी प्रयोग गरी २०७९ साउन ११ गतेको अन्तरकालीन आदेश समेतको परिपालना नगरी उस्तै सेवा सुविधा प्रदान गर्दै आएको देखिएको’ उल्लेख छ ।