प्रसाईं निवासको सुरक्षाको लागि प्रहरी परिचालन

भक्तपुर, मंसिर ८
जिल्ला प्रहरी परिसर भक्तपुरले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंको घर सुरक्षाको लागि मात्र प्रहरी खटाएको जनाएको छ ।
मध्यपुर थिमि–६, थिमिस्थित प्रसाईंको निवासमा सुरक्षाकर्मीको बाक्लो उपस्थितीका बारेमा अनेक टिप्पणी हुन थालेपछि परिसर प्रमुख एसपी वेद बिष्टले प्रसाईं र उनको घरको सुरक्षाको लागि मात्र प्रहरी खटाएको बताउनुभएको हो ।
भक्तपुर प्रहरीले केही दिन यता सुरक्षा चुनौती बढेपछि प्रसाई निवासमा प्रहरीले सुरक्षा दिइरहेको छ । सोही क्रमलाई निरन्तरता मात्र दिएको बताउँदैं एसपी बिष्टले प्रसाईंको घरमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई देखाएर गलत प्रचार नगर्न आग्रह गर्नुभयो ।
“उहाँलाई अहिले सुरक्षा चुनौती छ । त्यसैले केही दिनदेखी प्रहरी प्रसाईंको घर वरिपर बस्दै आएको छ, आज पनि बसेको हो,” उहाँले भन्नुभयो, “सुरक्षाका लागि खटिएका प्रहरी देखाएर गलत प्रचार नगरौं ।”
जिल्ला प्रशासन कार्यालय, काठमाण्डौंले प्रसाईंले तिनकुनेमा कार्यक्रम गर्न अनुमति नलिएको विज्ञप्तिमार्फत जानकारी गराएपछि प्रहरीले प्रदर्शनका लागि तिनकुने पुगेका राजावादी अभियन्ताहरुलाई धरपकड गरेको थियो ।
प्रदर्शनका लागि काठमाण्डौंको तिनकुने पुगेका प्रसाई समर्थकलाई प्रहरीले धरपकड गरेपछि प्रसाईंको निवासमा सुरक्षाकर्मीको बाक्लो उपस्थितीले उनलाई नजरबन्दमा राखिएको टिप्पणी गर्न थालेका थिए ।