चाडपर्वमा गैरकानुनी गतिविधि नगर्न प्रशासनको आग्रह

भक्तपुर, कार्तिक २५
जिल्ला प्रशासन कार्यालय भक्तपुरले तिहार, नेपाल संवत र छठ पर्वमा शान्ति व्यवस्थामा प्रतिकुल असर गर्ने गतिविधि नगर्न सचेत पारेको छ । सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले एक सूचना जारी गर्दै चाडपर्व मनाउँदा शान्ति व्यवस्थामा प्रतिकुल असर गर्ने गतिविधि कानुन विपरित हुने भएकाले त्यस्ता गतिविधि नगर्न र नगराउन सचेत पारेको हो ।
सहायक प्रजिअ निरौलाले जारी सूचनामा चाडपर्वका नाममा मादक पदार्थ सेवन, जुवातास, लङ्गुर बुर्जा खेल्ने खेलाउने तथा अति प्रज्वलनशिल पटका, भुईचम्पा, जस्ता वस्तुहरुको ओसार पसार र बेचबिखन तथा पड्काउने कार्य गैरकानुनी कार्य भएको जनाएको छ ।
“धार्मिक साँस्कृतिक र परम्परागत महत्व बोकेको चाडपर्वहरु मनाउँदा शान्ति व्यवस्थामा प्रतिकुल असर पर्ने मादक पदार्थ सेवन, जुवातास, लङ्गुर बुर्जा खेल्ने खेलाउने तथा अति प्रज्वलनशिल पटका, भुईचम्पा, जस्ता वस्तुहरुको ओसार पसार र बेचबिखन तथा पड्काउने कार्य गैरकानुनी कार्य हुन । यस्ता कार्य नगर्न नगराउन अनुरोध गर्दै सभ्य, भव्य र व्यवस्थित रुपमा जिम्मेवारीपुर्वक चाडपर्व मनाउन समेत हार्दिक अनुरोध गरिन्छ,” सूचनामा उल्लेख छ ।
निरौलाले राष्ट्रिय गौरव तथा एकता एवम् समृद्धिको प्रतिकको रुपमा परम्परादेखी मनाईंदै आएका चाडपर्वहरुको आफ्नो महत्व रहेको जनाउँदैं साम्प्रदायिक सद्भाव र सहकार्य एवम् सम्मानको संस्कृति पूस्तान्तर गर्न पनि चाडपर्वहरुको विशेष महत्व रहेको उल्लेख गर्नुभएको छ ।