व्यवसायीलाई उत्साह जगाउने अभियानको खाँचो

भक्तपुर, कार्तिक २५
भक्तपुरका व्यवसायीहरुले समग्र आर्थिक क्षेत्र निराश हुँदैं गएको अवस्थामा उद्यमी व्यवसायीहरुलाई ढाडस दिँदैं उत्साह जगाउने अभियान गालनी गर्नुपर्ने बताएका छन । उनीहरुले आर्थिक क्षेत्रका सवल पक्षलाई जोडदाररुपमा प्रचार प्रसार गरी निराशालाई आशामा बदल्नु पर्नेमा समेत जोड दिएका छन ।
भक्तपुर चेम्बर अफ कमर्सले तिहारको अवसरमा शुक्रवार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी व्यवसायीहरुले लगानीको वातावरण नभएको गुनासो समेत व्यक्त गरे ।
कार्यक्रममा मौजुदा आर्थिक अवस्था र अबको बाटो विषयमा प्रवचन दिँदैं अर्थविज्ञ एवं इन्जिनियर ज्ञानेन्द्रलाल प्रधानले राज्यको नेतृत्व तह स्वार्थ केन्द्रित नहुने हो भने मुलुकको विकासको सम्भावना धेरै भएको बताउनुभयो । उहाँले मुलुकमा अझै पनि सवल पक्ष धेरै रहेको हुँदा सबैको प्रयासबाट राजनीतिक तहलाई दवाव दिनुपर्नेमा जोड दिनुभयो । उहाँले व्यवसायीहरुलाई निराश नहुन र आर्थिक क्षेत्रका सवल पक्षको अध्ययन गरी लगानीको क्षेत्र परिमार्जन गर्दै जान सुझाव दिनुभयो ।

भक्तपुर प्याव्सनका अध्यक्ष सुरेन्द्र श्रेष्ठले नीतिगत सुधारको नाममा केही स्वार्थी तत्वले व्यवसायीहरुको हित विपरित ऐन नियम ल्याउने गरेको पछिल्लो उदाहरण शिक्षा विधेयक भएको बताउँदैं केही तत्व नेपालको समग्र व्यवसायीक क्षेत्र तहशनहश गर्ने तर्फ लागि परेको आरोप लगाउनुभयो ।
चेम्बरका अध्यक्ष न्हुछेरत्न मानन्धरले आफ्नो हक अधिकार र अस्तित्वका लागि व्यवसायिक क्षेत्रले आवाज बुलन्द गर्न हतार भईसकेको बताउनुभयो । उहाँले भक्तपुर चेम्बरले व्यवसायीहरुलाई झकझकाउने काम गर्दै आएको जानकारी समेत दिनुभयो ।
भक्तपुर चेम्बरका उपाध्यक्ष कविदास श्रेष्ठले संस्थाले उद्यमी व्यवसायीको आवश्यकतामा आधारित रहेर सेवा सुविधा उपलब्ध गराउनुका साथै संस्थालाई व्यवसायिक विषय वस्तुमा विचार मन्थनको उपयुक्त स्थानको रुपमा विकास गर्दै आएको बताउनुभयो ।
भक्तपुर चेम्बरका कार्यसमिति सदस्य माधव प्रसाद प्रजापतिको संयोजकत्वमा सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका उद्यमी व्यवसायी, लब्ध प्रतिष्ठित व्यक्तिहरु लगायत विभिन्न वस्तुगत एवं व्यवसायिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।