तिहारको उपलक्ष्यमा भक्तपुर प्याव्सनको म्युजिकल नाईट

भक्तपुर, कार्तिक २४
प्याव्सन भक्तपुरले शुक्रवार ‘म्यजिकल नाईट विथ कोमल राजभण्डारी’ कार्यक्रम आयोजना गरेको छ । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार, नेपाल संवत ११४४ र छठको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको शुभारम्भ प्याव्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठको गायनबाट भएको थियो । अध्यक्ष श्रेष्ठ गायनका पनि सौखिन हुनुहुन्छ । उहाँले पहिलो सांगेतिक कोशेलीको रुपमा ‘जहाँ छन बुद्धको आँखा…..’ बोलको गीत गाउनुभएको थियो ।
अध्यक्ष श्रेष्ठको मधुर आवाजसँगै शुरु भएको कार्यक्रममा गायिका कोमल राजभण्डारीले विभिन्न आधुनिक तथा लोक गीत गाएर मनोरञ्जन प्रदान गर्नुभएको थियो । गायिका राजभण्डारीले पहिलो कोशेलीको रुपमा ‘शुभकामना भरी हरेक पलमा तिम्रो दिर्घायुको कामना गर्न सकुँ’ बोलको गीत गाउनुभएको थियो ।

वर्षभरी आफ्नो विद्यालय र विद्यार्थीहरुको उज्वल भविष्यको लागि चिन्तन गरिरहने विद्यालय सञ्चालक र प्रधानाध्यापकहरुबीच शुभकामना आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।