‘बाँसुरी बाजा’ प्रतियोगितामा लोहकिल्थलीको ‘सिद्धिगणेश दाफा भजन खलः’ प्रथम

भक्तपुर, कार्तिक २६
भक्तपुरको मध्यपुर थिमिस्थित नगदेशमा शनिवार सम्पन्न भएको नगरस्तरिय ‘बाँसुरी बाजा’ प्रतियोगितामा वडा नं. १, लोहकिल्थलीको ‘सिद्धिगणेश दाफा भजन खलः’ प्रथम भएको छ । नगदेशस्थित नृत्यनाथ भजन खलःको आयोजनामा सम्पन्न प्रतियोगितामा वडा नं. ५ को झीगु बाँसुरी खलः दोस्रो तथा वडा नं. ४ को सिवा सायमि खलः तेस्रो भएका छन् ।
प्रतियोगितामा प्रथम हने सिद्धिगणेशले नगद ५० हजार, दोस्रो हुने झीगुले २५ र तेस्रो हुने सिवा सायमीले १५ हजार नगद पुरस्कार प्राप्त गरे । यसैगरी नगदेशको नेवाः ऐतिहासिक बाँसुरी खलःलाई सान्त्वना पुरस्कारसँगै नगद १० हजार प्रदान गरे । प्रतियोगितामा १० समूहको सहभागिता रहेको थियो ।


प्रतियोगिता उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरको कलासँस्कृतिको संरक्षणका लागि नगरपालिकाले विगतमा धिमे बाजा प्रतियोगिता गर्दै आइरहेको स्मरण गराउँदैं आगामी दिनमा बासुरी बाजा प्रतियोगिता पनि गर्ने बताउनुभयो ।
उहाँले बाँसुरी बाजा, मौलिक संस्कृतिकोे रुपमा रहेको दाफा भजन, लोपोन्मुख नौ बाजा लगायतका विभिन्न बाजा संरक्षणमा नगरपालिकाले नेतृत्व गर्ने बताउनुभयो । उहाँले थिमिको क्वलाखु र बोडेको करिव लोप हुने अवस्थामा पुगेको दाफा भजनलाई स्थानिय स्तरको पहलमा पुनर्जिवन दिएको उल्लेख गर्दै लोपोन्मुख बाजाको सुचीमा सुचिकृत नौ बाजाका विषयमा नयाँ पुस्तालाई ज्ञान दिएर संरक्षणको पहल गर्नुपर्नेमा जोड दिनुभयो ।


आयोजक संस्थाका व्यवस्थापक योगेन्द्रकुमार दुवालको सभापतित्वमा सम्पन्न भएको बाजा प्रतियोगितालाई जयकृष्ण दुवालले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा वडा नं. ७ या वडाध्यक्ष तथा बौद्ध विद्वान कृष्णकुमार प्रजापति, नृत्यनाथ बाँसुरी खलः त्वागाः टोलका सल्लाहकार कृष्णबहादुर घजु, विभिन्न बाजाका गुरुहरु, संस्कृतिप्रेमी तथा कलाकारहरुको सहभागिता थियो ।

केके मानन्धरको सहयोगमा