तिहारको तेस्रो दिन आज गाई पुजा गर्दै गाई तिहार मनाईंदै

भक्तपुर, कार्तिक २७
नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको तेस्रो दिन आज (सोमवार) कार्तिक कृष्ण औंसीको अवसरमा गाई पुजा गर्दै गाई तिहार मनाईंदैछ । यसदिन विधिपूर्वक गाईको पुजा गरी मिष्ठान्न खानेकुरा खान दिने परम्परा छ । गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ ।
औँसीका दिन बिहान गाईपूजा गर्ने र साँझ लक्ष्मीपूजा गर्नुपर्ने विधि भए पनि तिथिको घटबढका कारण यो वर्ष हिजो आइतवार नै लक्ष्मी पुजा गरिएको छ । औंसीको राती लक्ष्मी पुजा गर्नुपर्ने शास्त्रीय विधान भएको र आइतबार अपराह्न नै औँसी तिथि लागेकोले आज औंसी भएपनि अघिल्लो साँझ लक्ष्मीपूजा गरिएको हो ।


आइतबार १९ घडी ३७ पला अर्थात् दिउँसो २ बजेर १४ मिनेटमा औँसी लागेको हो । सोमबार २० घडी ४४ पला अर्थात् दिउँसो २ बजेर ४४ मिनेटसम्म औँसी रहने पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।
‘कार्तिक कृष्ण औँसीको गाईतिहार सोमबार भए पनि सोमबार रात्रीमा औँसी तिथि नरहने भएका कारण आइतबार नै लक्ष्मीपूजा गरिएको हो’, पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले भन्नुभयो ।
लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ । कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्न घर–घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ ।
यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नुनपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको प्रसङ्गमा पनि शास्त्रहरुमा पाईन्छ ।


सुख–सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पुजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गर्नु वा शुभ लाभ लेख्नु हाम्रो धार्मिक परम्परा हो ।
दीपावलीमा “तमसोमा ज्योतिर्गमय“ अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागि आफूलाई आत्मिक रूपमा सुख–सन्तोष प्रदान गर भन्ने यो दिन चेलीबेटीहरू भैलो खेलेर रमाइलो गर्छन् ।