कटुञ्जे घट्टेकुलो (लिफ्ट) खानेपानी जलस्रोत समितिको नयाँ नेतृत्व चयनका लागि असोज ६ गते निर्वाचन हुने

फाइल तस्विर

भक्तपुर, असोज २
भक्तपुरको सबैभन्दा पुरानो कटुञ्जे घट्टेकुलो (लिफ्ट) खानेपानी जलस्रोत समितिको नयाँ नेतृत्व चयनका लागि असोज ६ गते शनिवार निर्वाचन हुने भएको छ । सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि असोज ६ गते शनिवार निर्वाचन हुन लागेको हो ।
समितिको नेतृत्वको लागि वर्तमान अध्यक्ष श्रीकृष्ण बासु र प्रकाशराज ढुंगेलको समूह प्रतिष्पर्धामा रहेको छ । निर्वाचन बिहान ८ बजेदेखी साँझ ४ बजेसम्म कटुञ्जे आधारभुत विद्यालय सुशिला भैरव कटुञ्जेमा हुने निर्वाचन समितिका संयोजक एवम् नेपाल बार एशोसियसन भक्तपुरका अध्यक्ष रविन्द्र प्रधानले बताउनुभयो ।
खानेपानी समितिको निर्वाचन भएपनि कटुञ्जेमा निर्वाचनको सरगर्मी बढेको छ । नेतृत्वका आकांक्षीहरु घरदैलो कार्यक्रम मार्फत उपभोक्तामा घरघर पुगेर मत मागिरहेका छन । दुवै पक्षले खानेपानीको व्यवस्थापन र वितरणलाई प्रमुख ऐजेण्डा बनाएका छन ।
अध्यक्षका आकांक्षी प्रकाशराज ढुंगेलले वर्तमान नेतृत्वको असक्षमताका कारण यसवर्ष केन्द्र, प्रदेश र स्थानीय तीनै तहको बजेट पर्न नसकेको आरोप लगाउनुभयो । उहाँले ईन्यूज अफसँग कुराकानी गर्दै वर्तमान नेतृत्व कुनैपनि निकाय र सरकारसँग सहकार्य गर्न तयार नभएकै कारण खानेपानीका योजना बिस्तारका लागि बजेट नपरेको बताउनुभयो ।
उहाँले खानेपानीको थप स्रोत पहिचान गर्नुका साथै पानी प्रशोधन प्रक्रियालाई व्यवस्थित गरी शुद्ध खानेपानी वितरण, बाटोको बिच भागमा रहेको पुरानो पाइपलाइनलाई बाटोको दुई किनारमा बिस्तार गरी सरल ढंगले पानी वितरण, पुरानो पाइपलाइनको आवश्यकता अनुसार सुधार, स्थानीय, संघ र प्रदेश सरकारसँग समन्वय गरी बजेटको व्यवस्था गरी खानेपानीको वितरणमा सुधार ल्याउने, कार्यालयलाई थप प्रविधि मैत्री बनाउने, अनुगमनलाई नियमित बनाउँदैं चुवाहट नियन्त्रण र जनगुनासोको तत्काल सम्बोधन गर्ने आफ्नो मूख्य ऐजेण्डा भएको बताउनुभयो ।
विगतमा दलिय आधारमा नेतृत्वको लागि प्रतिष्पर्धा हुने कटुञ्जे घट्टकुलो खानेपानीमा यसवर्ष सहमतीय प्रणालीलाई जोड दिईएको छ । खानेपानी जस्तो दैनिक अत्यावश्यक वस्तुको व्यवस्था गर्ने समितिको निर्वाचनमा दलिय विचारका आधारमा प्रतिष्पर्धा गर्नु अनुचित भएकाले यसवर्ष सहमतिमा नेतृत्व चयनका लागि जोड दिईएको समितिका पुर्व अध्यक्ष एवम् नेपाली कांग्रेस सूर्यविनायक नगरसभापति निशान ढुंगेलले बताउनुभयो ।
खानेपानी समितिको नेतृत्व सबै दलले स्विकार गर्न सक्ने व्यक्तिले गरेमात्र भोलीका दिनमा केन्द्र, प्रदेश र स्थानीय तहमा जुनसुकै दलको सरकार भएपनि आवश्यक बजेट व्यवस्थामा सहज हुने भएकाले यसवर्ष सहमतिमा नेतृत्व चयनका लागि प्रयास गरेपनि वर्तमान नेतृत्व बाधक बनेको सूर्यविनायक नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष राजकुमार जोशीले बताउनुभयो ।
समितिको नेतृत्वको लागि यसवर्ष नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) निकटका आकांक्षीहरुले संयुक्त प्यानल बनाएका छन । जसको नेतृत्व प्रकाशराज ढुंगेलले गरेका छन । उहाँको समूहबाट उपाध्यक्षमा लक्ष्मण थापा, कोषाध्यक्षमा जीवन बखुन्छे, तीन जना महिला सदस्यका लागि नानी मैया आगन्जा गोसाईं, गंगा ढुंगेल र रामलक्ष्मी कोजु प्रतिष्पर्धामा छन ।
अर्को समूहको नेतृत्व वर्तमान अध्यक्ष श्रीकृष्ण बासुले गरेका छन । उहाँ नेकपा एकिकृत समाजवादी निकट हुनुहुन्छ । उहाँको समूहबाट उपाध्यक्षमा सन्तोष शर्मा ढुंगेल, कोषाध्यक्षमा सानुकाजी गोराजु र महिला सदस्यमा विमला ढकाल एक जना मात्र प्रतिष्पर्धामा रहेका छन ।
समितिको सचिवमा ढुंगेल समूहका कमल तिमल्सिना निर्विरोध निर्वाचित भइसकेको छ ।