आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाईंदै

भक्तपुर, असोज ३
संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारी भएको आज आठ वर्ष पुरा भएको छ । यस अवसरमा विविध कार्यक्रम गरी देशभर संविधान दिवस मनाईंदैछ । वि. सं. ०७२ असोज ३ गते अर्थात आजकै दिन संविधानसभाले संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारी गरेको हो ।
संविधान जारी भएको ८ वर्ष पुग्दा पनि यसको सफल कार्यान्वयन भने हुन सकेको छैन् । संविधानको पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण हुन सकेको छैन । संविधानमा लेखिएका मौलिक हक कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन अझै बनेका छैनन् । दलहरु सत्ता कै लुछाचुँडीमा केन्द्रीत हुँदा कानुन निर्माणको थलो संसद बन्धक बन्दै आएको छ ।
सत्तामा हुँदा ठिक विपक्षमा पुग्दा सबै बेठिक भन्ने प्रवृत्तिले एकातिर कानुन नै बन्न सकेको छैन भने अर्कोतिर बनेका कानुन कार्यान्वयन हुन सकेको छैन । यो आठ वर्षमा प्रदेश सरकारले अझै अधिकार पाउन सकेका छैनन् । केन्द्रीय मानसिकताले प्रदेश अधिकारविहीन भएको छ ।
२०७२ मा संविधान जारी नगर्न संविधानसभामाथि चौतर्फी दवाब परेको थियो । दवाबकाबीच संविधान जारी भएपछि भारतले अघोषितरुपमा नाकाबन्दी गरे भने मधेशवादी दलहरु संविधान जलाएर आन्दोलनमा गए । असोज ३ लाई कालो दिनको रुपमा लिए । यद्यपी संविधान अनुसार पटक पटक सत्तामा गएपनि मधेशवादी दलहरुले अझ पनि संविधानलाई पूर्णरुपमा स्विकार गर्न सकेको छैन ।
संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्ने भएको छ । सो समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहाय यादव लगायत विशिष्ट व्यक्तिहरु उपस्थित हुने कार्यक्रम रहेको छ । यो वर्षको संविधान दिवस सरकारले तीन दिन मनाउने भएको छ । जसअनुसार हिजो असोज २ गते स्मारिक प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरु गरेको छ ।
विदेशस्थित राजदूतावासहरु, कुटनीतिक नियोगमा पनि यो दिवस मनाउने, तीन दिन नै बेलुका दीपावली गरेर संविधान दिवस मनाइने छ । संविधान दिवसको दिन सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।