बोडेका कांग्रेस नेता कृष्णबहादुर होनाको निधन

भक्तपुर, भदौ ३१
नेपाली कांग्रेस मध्यपुर थिमि नगरपालिका बोडेका नेता कृष्णबहादुर होनाको आइतवार निधन भएको छ । दुवै मिर्गौला फेल भएर अस्वस्थ रहनुभएका होनाको उपचारकै क्रममा निधन भएको हो ।
होना विगत ५ दशकदेखी कांग्रेसमा सक्रिय हुनुहुन्थ्यो । उहाँले पञ्चायती व्यवस्था विरुद्ध बोडेका युवाहरुलाई एकत्रित गरी कांग्रेसमा आवद्ध गराउने, संगठन बिस्तार गर्ने र प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदैं आउनुभएको नेपाली कांग्रेस मध्यपुर थिमि वडा नं. ८ का सभापति दिलकृष्ण प्रजापतिले बताउनुभयो ।
५ दशक लामो सक्रिय राजनीतिमा होना कहिले पनि राजनीतिक लाभको पदमा बस्नु भएन । उहाँले पार्टीमा समेत पदको आशा कहिल्यै नगर्नुभएको वडा सभापति प्रजापतिले बताउनुभयो । “उहाँ बोडेमा कांग्रेसको मियो हुनुहुन्थ्यो । उहाँले ५ दशक आस्थाको राजनीति गर्नुभयो । राजनीतिलाई समाजसेवाको लागि उपयोग गर्नुभयो । तर कहिल्यै पनि लाभको पदको आशा गर्नुभएन । पार्टीमा पनि ठूलो पद माग्नुभएन,” प्रजापतिले भन्नुभयो ।


स्वर्गिय होनाको आइतवार नै पशुपति आर्यघाटमा धार्मिक र सनातन परम्परा अनुसार दाहसंस्कार गरिएको प्रजापतिले जानकारी दिनुभयो । दाहसंस्कार अघि होनाको पार्थिक शरीरमा नेपाली कांग्रेस भक्तपुर सभापति एवम् सांसद दुर्लभ थापाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अपर्ण गर्नुभएको थियो ।
स्व. होनालाई अन्तिम श्रद्धाञ्जली अपर्ण गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, जिल्ला कार्यसमितिका पदाधिकारीहरु, नेपाली कांग्रेस मध्यपुर थिमि नगरसभापति हरिदास प्रजापति, कांग्रेसका नेता अष्ट कवे, मध्यपुर थिमिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यहरुलगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।