तीनकुने सामूहिक हत्यामा संलग्न भएको आरोपमा एक जना पक्राउ

भक्तपुर, भदौ ३१
काठमाण्डौंको तीनकुने गैह्रीगाउँस्थित दिव्य सः मिलभित्र शुक्रवार राती चार जनाको सामूहिक हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरी आइतवार साँझ सार्वजनिक गरेको छ । सो हत्याको अनुसन्धानका लागि गठित प्रहरी टोलीले हत्यामा संलग्न भएको आरोपमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
सिन्धुपाल्चोक जाने तयारी गरिरहेका भण्डारीलाई आइतबार बिहान प्रहरीले काँडाघारीबाट पक्राउ गरेको हो । पक्राउ परेपछि उनले कापीमा ‘आई किल्ड फोर पिपल’ लेखेर बयान दिएका थिए । बोल्न नसक्ने भण्डारीको बयान प्रहरीले दोभाषेको सहयोगमा लिएको जनाएको छ ।
जन्मजात बोल्न नसक्ने भण्डारीलाई जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार काँडाघारी क्षेत्रबाट पक्राउ गरेको थियो । घटना भएको दिन बोकेको झोला र त्यसभित्र घटनामा प्रयोग भएको खुकरीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनलाई सीसीटीभी फुटेजका आधारमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले बताउनुभयो । घटनापछि खुकुरीसहित भागेका भण्डारी पेप्सीकोलास्थित साथीको घरमा पुगेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा भण्डारीको निशानामा सःमिलमा बस्ने नवीन भन्ने विशाल राई थिए । केही पहिले राईले चलाएको मोटरसाइकलले भण्डारीलाई ठक्कर दिएको थियो । त्यस क्रममा राईले नै भण्डारीमाथि कुटपिट गरेका थिए । त्यसको प्रतिशोधमा आफूले यो घटना घटाएको भण्डारीले बयानमा बताएका छन् ।


भण्डारी काँडाघारीस्थित दिदी भिनाजुसँग बस्थे । आउजाउ गर्ने क्रममासःमिलको घर टहरोमा नविनलाई देखेका थिए । घटना भएको दिन पनि उनी राईलाई भेटेर कुराकानी गर्ने, निहुँ खोजे आक्रमण गर्ने भनेर काँडाघारीबाट आएका थिए ।
बेलुकीको समयमा सःमिलमा आइपुगेका उनी पछाडि पट्टीको बन्द गेटबाट चढेर राईको कोठामा पुगेका थिए । केहीबेरमा आएका राईले किन आएको भनेर कुटपिट गरेपछि आफूले खुकुरीले टाउकोमा प्रहार गरेको भण्डारीले स्वीकार गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।
त्यसक्रममा आफूलाई देखेको भनेर अरुलाई आक्रमण गरे । उनले सुरुमा सुभद्रा भुजेल, त्यसपछि पूर्णबहादुर भुजेल र अम्बिकालाई टाउकोमै खुकुरी प्रहार गरेका थिए । घटनापछि उनी फेरि काँडाघारीस्थित दिदीभिनाजुको कोठामा पुगेर सुतेका थिए । भोलिपल्ट शनिबार अरु दिनजस्तै नक्सालस्थित आफू पढेको स्कुलका साथीहरुलाई भेट्न गए ।
आइतबार भने प्रहरीले खोजिरहेको हुनसक्छ भनेर सिन्धुपाल्चोक गएर लुक्ने सोचका साथ हिँडेका थिए । हुलिया मिलेपछि उनलाई नियन्त्रणमा लिएको र उनको साथबाट घटनामा प्रयोग भएको हतियार समेत बरामद भएको एसएसपी सोमेन्द्रसिंह राठौरले बताउनुभयो ।
जन्मजात बोल्न नसक्ने उनको बयान लिन प्रहरीले सांकेतिक भाषा विज्ञलाई झिकाएको थियो । उनले सम्पूर्ण घटना एक्लै घटाएको स्वीकार गरेको, तर अनुसन्धान भइरहेको राठौरले बताउनुभयो ।
तीनकुनेको दिव्य सः मिलमा नवीन राईसहित दोलखा घर भएका कुमार भनिने ५५ वर्षका पूर्णबहादुर भुजेल, श्रीमती अम्बिका भुजेल, आमा शुभद्रा भुजेलको धारिलो हतियार प्रहारबाट हत्या भएको थियो ।
यसअघि प्रहरीले हत्याको आशंकामा घटनास्थलबाटै नियन्त्रणमा लिएका दिपेन्द्र राईसहित हिजो पक्राउ परेका चारै जना छुटेका छन् । घटनाबारे खबर गर्न २८ वर्षका दीपेन्द्र राई तीनकुनेस्थित प्रहरी वृत्त नयाँ बानेश्वर पुगेका थिए । कपडा र जुत्तामा रगत लागेको अवस्थामा पुगेका उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो ।

तर, सीसीटीभी फुटेजमा दीपेन्द्र ११ बजेर १३ मिनेटमा सःमिलमा प्रवेश गरेर ११ः३३ मा निस्किएको पाइएको छ । उनी प्रहरी कहाँ पुग्दा ११ः५५ बजेको थियो । यो घटना उनी पुग्नुभन्दा पहिला नै भएको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।