संस्कृति संरक्षणको कार्य सरकार एक्लैले गर्न सक्दैन – नगरप्रमुख श्रेष्ठ

भक्तपुर, भदौ ३१
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले परम्परागत मुर्त अमुर्त कला संस्कृति संरक्षणको कार्य सरकार एक्लैले गर्न नसकिने बताउनुभएको छ ।
यसवर्षको गुँला पर्वको अवसरमा मध्यपुर थिमि–१, लोहकिल्थलीस्थित दिव्यश्वरी ज्ञानमाला भजन खलःले आयोजना गरेको एक महिने गुँला धर्म सेवा कार्यक्रमको आइतवार आयोजित समापन कार्यक्रममा नगरप्रमुख श्रेष्ठले संस्कृतिको संरक्षणको कार्य सरकार एक्लैले गर्न नसक्ने बताउँदैं यसको लागि समूदायको सहयोगको खाँचो रहेको औंल्याउनुभयो ।
उहाँले स्थानीय कला संस्कृतिको ज्ञाता स्थानीय स्वयम् हुने भएकोले स्थानीय जागरुक बन्न सके मात्र यसको संरक्षण हुने बताउनुभयो । उहाँले यसवर्ष चपाचोबाट निकालिएको थिमि भैलः प्याखँ प्रदर्शनको लागि स्थानीय स्तरमा ४० लाख भन्दा धेरै नगद आर्थिक सहयोग प्राप्त भएको उदाहरण प्रस्तुत गर्दै यसरी आर्थिक सहयोग सरकार एक्लैले गर्न नसकिने समेत बताउनुभयो ।


नगरपालिकाले भौतिक पूर्वाधारको विकासलाई मात्र नभई शिक्षा, स्वास्थ्य, नगरवासीको जीवनस्तर उकास्ने, रोजगारीको सिर्जना र कला संस्कृतिको संरक्षणलाई पनि प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेको उहाँले बताउनुभयो । उहाँले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको व्यवस्थापन, अस्पताल परिसरमा व्यापक सुधार गरी गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरिएको जानकारी दिँदैं एक हप्ताभित्र सिटि स्क्यान सञ्चालन हुने, नयाँ शल्यक्रिया कक्षको निर्माण, तीन वर्ष भित्र थप एक सय शैयाको अत्याधुनिक सुविधासहितको नयाँ भवन तयार हुने जानकारी दिनुभयो ।


उपप्रमुख विजयकृष्ण श्रेष्ठले स्थानीय कला संस्कृति नगरपालिकाको जीवन्त सम्पदा भएकाले यसको संरक्षणमा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले मध्यपुर थिमिका जनताको एक प्रमुख समस्याको रुपमा रहेको स्ववासी जग्गा दर्ता गरी लालपुर्जा वितरणलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो ।
भजन खलःका अध्यक्ष अष्टबहादुर कवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा ज्ञानमाला भजनका गुरु गणेशराम प्रजापतिलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने एक महिने गुँला धर्म सेवा कार्यक्रमलाई आर्थिक एवम् विभिन्न प्रकारको सहयोग गर्नुहुने २ सय भन्दा धेरै सहयोगी दाताहरुलाई पनि कदरपत्रले सम्मान गरिएको थियो ।