आज तीज पर्व मनाईंदैं

भक्तपुर, असोज १
भाद्र शुक्ल तृतीयाको अवसरमा आज सोमवार खस ब्राम्हण समूदायका हिन्दु महिलाहरुले हरितालिका तीज पर्व मनाउँदैं छन । भगवान शिवको पूजाआराधना गरी आफ्नो पतिको दिर्घायु, अटल सौभाग्यको कामना, सन्तान प्राप्ति, अविवाहित युवतीहरुले असल वर प्राप्तिका लागि निर्जला व्रत बसेर यो पर्व मनाउँदै छन् ।
पार्वतीले भगवान शिव पतिका रुपमा पाऊँ भनेर गरेको व्रतलाई नै हरितालिका तीज भनिएको हिन्दु धर्ममा उल्लेख गरिएको छ । आफ्ना पिताले आफ्नो विवाह भगवान विष्णुसँग गरिदिन लागेको थाहा पाएपछि चिन्तित भएकी पार्वतीलाई उनका साथीहरूले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सो स्थानमा नै पार्वतीले निर्जला व्रत बसेको हुनाले हरितालिका व्रत भन्ने गरेको धार्मिक मान्यता रहेको छ ।
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको हो । ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी हुन्छ । अर्थात् साथीद्वारा हरण गरिएको भन्ने अर्थमा भाद्र शुक्ल तृतीयालाई हरितालिका तीजको रुपमा मनाउने गरिएको धार्मिक मान्यता छ ।
त्यसयुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।
निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन् । सक्नेले निराहार नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुने धार्मिक गुरुहरु बताउँछन ।
तीजको व्रतको दिन व्रतालुहरुले भगवान शिवको पुजा आराधना गर्नुका साथै दिनभर नाचगान गरेर मनाउँछन । तीजलाई विशेष गरी महिलाहरुले आफुले दैनिक जीवनमा भोगेका दुःख, पिर, कष्टलाई गितमार्फत व्यक्त गर्ने पर्वको रुपमा पनि लिईन्छ । विशेष गरी सासुको खटनपटनमा आइपरेका व्यवहारलाई माईतीमा जम्मा भएका महिलाहरुले गितमार्फत एक आपसमा बाँडेर मन हल्का गर्ने पर्वका रुपमा पनि तीजलाई लिईन्छ ।